२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


अपाङ्गता भएकालाई हिमाल चढ्दा व्यहोर्नुपर्ने झमेला कम गर्ने काममा लाग्छु : हरि बुढामगर


1.339k
Shares

काठमाडौं । सगरमाथाको सफल आरोहण गरेर र्फकनुभएका पूर्वगोर्खा सैनिक हरि बुढामगरले अपाङ्गता भएकाहरुलाई हिमाल चढ्दा व्यहोर्नुपर्ने प्रक्रियागत झमेलालाई कम गर्ने काममा लाग्ने बताउनुभएको छ ।

सगरमाथाको आरोहणपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले सगरमाथा चढ्दाको अनुभव शेयर गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले हिमाल चढ्दा अपाङ्गता भएका मानिसहरुले हिमाल चढ्न गर्नुपर्ने प्रक्रियालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर आगामी दिनमा काम गर्ने लक्ष्य रहेको बताउनुभयो ।

उहाँले अब अपाङ्गता भएकाहरुले आफूले जस्तो लामो प्रक्रिया भोग्नु नपर्ने अवस्था सिर्जना गर्नेपनि बताउनुभयो । उहाँले सगरमाथाको चुचुरोमा पुगेर धेरै फोटो खिच्ने र विश्वको अग्लो स्थानबाट सबै हिमाल हेर्ने सपना मौसमको कारण सफल हुन नसकेको बताउनुभयो ।

उहाँले शरीरमा अक्सिजन नहुँदा कस्तो हुँदो रहेछ भन्ने कुरा सगरमाथा चढ्दा अनुभव दिएको बताउनुभयो । उहाँले सगरमाथा चढ्दा अक्सिजन सकिएर माथि जान नसक्ने गरी शरीर चिसो भएको र पछि अक्सिजन परिवर्तन गरेपछि स्वस्थ भएर माथि चढेको बताउनुभयो ।

उहाँले दुवै खुट्टा (घुँडाभन्दा माथि) गुमे पनि मानिसले नै रकेट बनाएर अन्तरिक्षमा पुगेको भन्ने सोच आएकाले सगरमाथा चढ्ने आँट गरेको बताउनुभयो । उहाँले विश्वमा कतै पनि आफ्नो जस्तो खुट्टा डिजाइन नभएको बताउनुभयो ।

उहाँले सबैको प्रेरणाले सगरमाथा चढेर राम्रो काम गरेको जस्तो लागेको बताउनुभयो । उहाँले नेपालीहरु मुख्य गरी सगरमाथा, बुद्धको देश र गोर्खालीहरुको देश भएको र आफू तीनवटै कुरामा सम्बन्ध रहेको बताउनुभयो । उहाँले ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा दुवै खुट्टा (घुँडाभन्दा माथि) गुमेपछि जिन्दगी सकियो भनेर बसेको मान्छे भएको बताउनुभयो ।

बसन्त ऋतुको जारी आरोहणमा बुढामगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथा शिखरमा पुग्नुभएको थियो । उहाँको स्वागत तथा सम्मानका लागि पर्यटनमन्त्री सुदन किराँती पनि विमानस्थल पुगेका गर्नुभयो ।

त्यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका हरि बुढामगरलाई बधाई दिनुभएको छ । राष्ट्रपति पौडेलको सो बधाई सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले कार्यक्रममा बुढामगरलाई हस्तान्तरण गर्नुभयो ।

ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँंदा युद्धमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहणमा बुढामगरले राख्नुभएको विश्व कीर्तिमान लगन, शाहस र गौरवको प्रतिकका रुपमा सबैका लागि सदैव प्रेरणाको विषय हुने आफूलाई विश्वास लागेको राष्ट्रपति पौडेलले बधाई सन्देशमा उल्लेख गर्नुभएको छ ।