
काठमाडौं । नेकपा(एमाले)का सांसद रघुजी पन्तले तेस्रो पटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिनुभएको छ ।
मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा हुने प्रयत्न नगर्न चेतावनी दिनुभएको हो ।
उहाँले एउटा प्रक्रियाबाट राजतन्त्र नेपालबाट बिदा भइसकेको भन्दै राजतन्त्रको बिदाई नेपाली जनताको चाहना भएको बताउनुभयो । उहाँले राजाले शान्तिपूर्ण रुपले गद्दी छोडेको र दलहरुले पनि कुनै बदला नलिएको अवस्था रहेको भन्दै शाहलाई देशले पूर्वराष्ट्राध्यक्षको रुपमा सम्मान र सुरक्षा दिएको उल्लेख गर्नुभयो । उहाँले राज्यले दिएको सम्मानको पूर्वराजाले कदर गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पूर्वराजा शाहको सक्रियाताबाट तर्सिनु नपर्ने बताउनुभएको छ । दलहरुको बीचमा विवाद भएकै कारण राजतन्त्र नफर्किने उहाँले स्पष्ट पार्नुभयो । गणतन्त्रात्मक व्यवस्था फेल नभएको भन्दै उहाँले राजतन्त्र नफर्किने बताउनुभयो ।
कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्वराजाले नेपाली नागरिकका रुपमा हिँड्दा आफूहरुलाई कुनै चिन्ता नभएको बताउनुभयो । उहाँले नेपालको कानून, संविधानको दायराभित्र रहेर कोही काहीँ घुम्दैमा लोकतन्त्र समाप्त नहुने टिप्पणी गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्न नसक्दा र दलहरुमा कमजोरी रहेसम्म केही तत्वहरु सल्बराइरहने टिप्पणी गर्नुभयो । उहाँले पूर्वराजाको सक्रियतालाई स्वभाविक रुपमा लिनुपर्ने बताउनुभयो ।
उहाँले वर्तमान प्रणालीप्रति कुनै किसिमको जोखिम नरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्