
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भ्रष्टाचारी र अपराधीहरुलाई कारबाही नगरे आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले भ्रष्टाचारी र अपराधीहरुलाई सरकारले कानुनी कारबाही नगरे आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने बताउनुभएको हो ।
प्रमुख सचेतक शाहीले सरकारको नीति तथा कार्यक्रमलाई रेस्लिङ खेल्ने गेमजस्तो बनाउन नहुने पनि बताउनुभयो । उहाँले ट्रेड युनियन खारेज गर्न पनि सरकारसँग माग गर्नुभयो ।
ट्रेड युनियनहरुकै कारण मुलुकको उद्योगधन्दा, कलकारखाना बन्द भएकाले त्यसलाई सरकारले खारेज गर्नुपर्ने प्रमुख सचेतक शाहीको तर्क थियो ।
उहाँले मुलुकको अर्थतन्त्रको विकासका लागि लोकल मदिराको विक्रीवितरण र बाहिरबाट मदिरा ल्याउने काममा प्रतिबन्ध लगाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।
प्रमुख सचेतक शाहीले प्राकृतिक स्रोतको सदुपयोग गर्ने, जुडिबुटीको उत्पादन तथा विक्रीवितरणको काम किसानलाई गर्न दिने नीति ल्याउन पनि सरकारलाई सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्