
गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिहरु अहिले प्रहरी हिरासतमा छन् । देशकै प्रतिष्ठामा आँच पुर्याउने यो प्रकरण दवाउन खोज्दा खोज्दै बाहिर आएको बुझिन थालेको छ । राजनीतिकदेखि प्रहरी संगठनसम्मको नेतृत्व तानिने खतरा बढेको यो प्रकरणलाई फितलो बनाउने खेल अहिले पनि चलिरहेको हो कि भन्ने देखिंदै छ । जसको एउटा उदाहरण हो, हिरासतमा रहेका विचौलिया र उजुरीकर्ताहरुको भेटघाट र हिसाब मिलान ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका विचौलिया केशव दुलाल र सानु भण्डारी यसअघि पनि पक्राउ परेर छुटेका व्यक्तिहरु हुन् । नेपाल प्रहरीका वर्तमान प्रमुख बसन्त कुँवर उपत्यका अपराध अनुसन्धान कार्यालयको.प्रमुख रहेको बेला भण्डारी र दुलाल पक्राउ परेका थिए । तर, उनीहरु पक्राउ परेको केही बेरमै छुटेका मात्र नभई उनीहरु पक्राउ परेको रेकर्ड समेत मेटाइएको थियो । सो कार्यालयको प्रमुखमा जनक भट्टाराई आउँदा पनि उजरी दिने क्रम भने रोकिएन यद्दपी उजुरीमाथि कुनै छानबीन अगाडि बढाइएन ।
जब उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखको जिम्मेवारी एसएसपी मनोज केसीले सम्हाल्नुभयो त्यसपछि बल्ल नक्कली भुटानी शरणार्थी प्रकरणमा परेका उजुरीहरुमाथि अनुसन्धान सुरु भयो । केसीले उजुरीको आधारमा केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई नियन्त्रणमा लिएर तत्काल बयान लिन थाल्नुभयो । उनीहरुको ६ घण्टा सम्मको बयानका क्रममा हाइप्रोफाइलका व्यक्तिहरुको संलग्नता खुलासा भयो ।
त्यसलगत्तै भारतमा रहेका सन्देश शर्मालाई भारतबाट पक्राउ गर्न प्रहरी सफल भयो । आफनो नियन्त्रणमा रहेकाहरुको बयानको आधारमा लिखित बिवरण सहित मनोज केसीले काठमाडौं उपत्यका प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीलाई गहन अनुसन्धान गर्नु लेखि पठाउनु भएको थियो । काठमाडौं परिसरले भने उक्त प्रकरणमा समातिएकाहरुलाई ठगी मुद्दा चलाउने भयो ।
त्यही बेला केसीको टोलीले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेपछी मुद्दाले एकाएक अर्कै मोड लियो । कतिसम्म भने खाँण पक्राउ परेको जानकारी नेपाल प्रहरीका प्रमुख बसन्त कुँवरलाई समेत दिइएको थिएन । काठमाडों उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवाली र मनोज केसीको अपरेशनले खाँणलाई समातेको थियो । खाँण समातिएसंगै एकपछि अर्को गर्दै हाइप्रोफाइलहरु तानिए ।
हालसम्म पक्राउ परेका १६ जना मध्ये १० जना मनोज केसीको टोलीले पक्राउ गरेको हो । एसएसपी केसीले अरु पनि कोही पीडित भए निर्धक्कसँग उजुरी दिन आग्रह गर्नुभएको छ ।
प्रहरी संगठनभित्रैको एउटा पक्ष मुद्दालाई फितलो बनाउन लागेको हो कि भन्ने आशंका बढिरहेको बेला हिरासतमा रहेका अभियुक्तहरुसँग उजुरीकर्ताहरुको भेट गराउने र रकम फिर्ता गराउने काममा समेत प्रहरी संलग्न भएको पाइएको छ ।
विचौलियाहरु केशव दुलाल र सानु भण्डारीले उजुरी दिनेहरुलाई हिरासतमै भेटेर रकम फिर्ता गरिरहेका छन् । सानु भण्डारी र केशव दुलाललाई रकम बुझाएका पथरीका एक युवकलाई काठमाडौं बोलाइ सानु भण्डारीका आफन्तले जेठ ८ गते २० लाख रकम फिर्ता गरेका थिए । तर, प्रहरी भने मुद्दा फितलो बनाउन लागेको भन्ने स्वीकार्न तयार छैन ।
त्यसो त बालकृष्ण खाँणले आफू पक्राउ पर्नु अघि स्वकिय सचिव नरेन्द्र केसीमार्फत उजुरीकर्ताको १ करोड रकम फिर्ता गरिसकेको पनि बुझिएको छ । ठूल दलका शीर्ष नेताहरु नै यो प्रकरणलाई सामसुम पार्न लागेको आशंका भईरहेको छ भने अर्कोतर्फ निश्पक्ष र निडर भएर अनुसन्धान गर्नुपर्ने प्रहरीबाटै शंकास्पद गतिविधि हुनुले गम्भीर आशंका बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्