
गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दर्ता गर्ने तयारी भइरहँदा पक्राउ परेका १६ जना मध्ये गिरोहका मुख्य व्यक्तिहरुको बयान सार्वजनिक भएको छ । गिरोहका नाइकेहरुले प्रहरी समक्ष दिएको बयानले देशको उच्च राजनीतिक, प्रशासनिक र प्रहरी नेतृत्व नै नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको देखाएको छ । त्यति मात्रै नभइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म लेनदेनका अखडा बनेको देखिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका विचौलियाहरुको बयानबाट पूर्वप्रधानमन्त्रीका स्वकीय सचिव, पूर्वउप्रधानमन्त्री, पूर्वगृहमन्त्री, सरकारका सचिव, अख्तियारका वहालवाला प्रमुख आयुक्त र वहालवाला प्रहरी महानिरीक्षक समेतमाथि गम्भीर अनुसन्धान गर्नुपर्ने देखिएको छ ।
नक्कली शरणार्थी प्रकरणका मुख्य नाइके भनिएका सानु भण्डारीको बयानमा सिंहदरबारदेखि मन्त्री क्वार्टर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा बुझाएको देखिएको छ । यस प्रकरणमा सबैभन्दा बढी रकम लिनेमा तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार ईन्द्रजित राई देखिएका छन् भने त्यसपछि बढी रकम बुझ्नेमा थापाका पत्नी र छोरा देखिएका छन् । राईले साढे पाँच करोड तथा थापाका पत्नी र छोराले गरी पाँच करोड लिएको विचौलियाहरुको बयानमा देखिएको छ ।
यस्तै, तत्कालिन गृह सचिव प्रेमकुमार राई, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश वज्राचार्य, ओलीका सल्लाहकार अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितलाई रकम बुझाएको विचौलियाहरुको बयानमा उल्लेख छ । तत्कालिन गृह सचिव प्रेमकुमार राईलाई पनि इन्द्रजित राइ मार्फत नै १ करोड रुपैयाँ दिएको भण्डारीको दाबी छ ।
यस्तै, रामबहादुर थापाका छोरा र पत्नीले पाँच करोड बुझेको दाबी पनि भण्डारीको दाबी छ । थापा पत्नी नैनकलालाई मन्त्री क्वार्टरमै पुगेर तीन करोड बुझाएको, थापाका छोरा प्रतीकले पछि बाहिर रेष्टुराँमा थप एक करोड बुझेको र नैनकलालाई पनि थप एक करोड दिएको बयानमा उल्लेख छ ।
टोपबहादुर रायमाझी आफैले १ करोड ६० लाख र छोरा सन्दीपको खातामा थप ४० लाख रुपैयाँ हालिदिएको पनि बयानमा उल्लेख छ । यस्तै, २०७६ साल असारमा तत्कालिन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका स्वकीय सचिव लीला जीसी मार्फत ओलीका स्वकीय सचिव राजेश वज्राचार्यलाई १ करोड रुपैयाँ प्रधानमन्त्री निवास बालुवाटारमै बुझाएको भण्डारीको दाबी छ ।
ओलीका सल्लाहकारद्वय अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितले भने मन्त्री क्वार्टरमा १÷१ करोड बुझेको दाबी छ । यस्तै, तत्कालिन गृहमन्त्री खाँणलाई आफैले ३० लाख दिएको र गृह सचिव पाण्डेमार्फत थप ८९ लाख ५० हजार रुपैयाँ दिएको पनि भण्डारीको बयानमा उल्लेख छ । तत्कालिन गृहसचिव टेकनारायण पाण्डेले मन्त्रालय र सिंहदरबार परिसरमा रकम बुझेको र उनलाई पटक–पटक गरी १ करोड २४ लाख ५० हजार रुपैयाँ दिएको तथा उनका सुरक्षा गार्ड मार्फत २५ लाख दिएको पनि भण्डारीको दाबी छ ।
गिरोहका अर्का मुख्य ब्यक्ति केशव दुलालले भने पछिल्लो पटक बयान फेरेर पहिले भन्दा फरक बयान दिएको प्रहरीले बताएको छ । पक्राउ परेपछि सचिव टेकनारायण पाण्डेले हिरासतबाटै बालकृष्ण खाँणका सहयोगी नरेन्द्र केसीलाई पत्र लेखी दुलालको बयान फेराउन सुझाव दिएको पनि प्रहरीले फेला पारेको छ । त्यसपछि दुलालले शुरुको भन्दा फरक बयान दिएको प्रहरीले बताएको छ । तर दुलालको मोबाइल सन्देश, ह्वाट्स् एप र भाइबरमा रहेका सन्देश तथा अडियो रेकर्ड भण्डारीको बयानसंग मिलेको प्रहरी स्रोतको भनाइ छ ।
यस्तै, तत्कालिन गृहसचिव पाण्डेको बयानबाट तत्कालिन गृहमन्त्री खाँणले रकम बुझेको प्रष्ट हुने देखिएको छ । पाण्डेको बयानमा गिरोहले खाँडलाई मन्त्रालयमै १ करोड २४ लाख ५० हजार रुपैयाँ दिएको उल्लेख छ । यस प्रकरणमा नेपाल प्रहरीका वहालवाला महानिरीक्षक बसन्त कुँवर समेत तानिने अवस्था देखिएको छ ।
प्रकरणको अनुसन्धानका क्रममा भेदिएका प्रमाणहरुले आइजिपी कुँवरले आफू काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहँदा गत वर्ष नै परेको उजुरीको अनुसन्धान गर्नुका सट्टा फाइल नै गायब बनाएको पाइएको छ । आइजीपी कुँवर पूर्वगृहमन्त्री खाँणलाई जोगाउन भरमग्दुर प्रयासमा लागेको र पक्राउ परिसकेका तत्कालिन गृहसचिव पाण्डे मार्फत गिरोहका सदस्यहरुसँग समन्वय गराएको पनि खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्