
काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जात्राहरु मध्येको भोटो देखाउने जात्रा बिहीबार मनाईदै छ ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत बिहीबार भोटो देखाउने जात्रा मनाउन लागिएको हो ।
सबैभन्दा लामो जात्राको रूपमा चिनिने रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा छ ।
गुठी संस्थानको संयोजनमा बिहीबार अपरान्ह पाँच बजे ललितपुरको जावलाखेलमा भोटो देखाउने कार्यक्रम रहेको छ । करीब १३ सय वर्ष अघि सुरु भएको विश्वास गरिने यो जात्रामा कहिलेदेखि भोटो देखाउन थालियो भन्ने निश्चित छैन ।
किम्वदन्ती अनुसार नागराज कर्कोटककी रानीको आँखा दुखेकोमा नागराज राजाले वैद्यको खोजी गर्ने क्रममा खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक लगेका थिए । किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी दुई हात माडेर निस्किएको मैलालाई औषधि भनी कर्कोटकलाई दिए । सोही औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । राजाले पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिए ।
किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले भूतले उनको भोटो लगिदियो । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा राजाले आफूलाई दिएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले भोटो दावी गरे । तर, भूतले भोटो दिन नमानेपछि विवाद भयो र कर्कोटक नागराजलाई समेत बोलाएर सोधखोज गरियो ।
अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो । सोही दिनदेखि रातो मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो दाबी गर्नका लागि सार्वजनिक रुपमा देखाउने परम्परा सुरु भयो भन्ने कथा यो पर्वसंग जोडिएको छ ।
भोटो देखाउने जात्रासँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगेपछि जात्रा समापन हुने गर्दछ । भोटो देखाउने जात्राको अवसरमा सरकारले उपत्यकाका तीन जिल्लामा बिहीबार सार्वजनिक विदा दिने गरेको छ ।
यसैबीच, उपत्यकाका नेवार समुदायले बिहीबार घर घरमा रहेका ईनारहरु सफा गर्ने तथा कुमार कार्तिकेयको पूजा गरी सिठीनखः पर्व मनाउँदै छन् । नेवार समुदायको देवाली पर्वको बिहीबार अन्तिम दिन पनि हो ।
प्रतिक्रिया दिनुहोस्