
बर्दिया । सरकारले करोडौ लगानी गरेका आयोजनाहरुमा थोरै ध्यान समेत पुर्याउन नसक्दा लगानी डुब्ने खतरा बढेको छ ।
सरकारी बेवास्ताका कारण पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सत्तिघाटमा निर्माण गरिएको पुल जोखिममा परेको छ । पुलका स्पानहरु (पिलर) फाटेर ग्याप बढेको छ ।
वर्षा याममा कर्णाली नदिमा पानीको सतह बढेपछि सत्तीघाट पुल जोखिममा परेको भन्दै तटबन्ध र स्पान थप गर्नुपर्ने कुराहरु चल्ने गर्दछन । तर, पानीको सतह कम भएसँगै ती कुराहरु एकाएक सेलाउछन् । कर्णाली नदीमा पानीको सतह कम भएको बेला सरकारले सत्ति पुल बचाउन तदारुकता देखाउनुपर्ने हो तर, नदी निदाएको बेला सरोकारबाला निकाय पनि निदाउने गर्छन् ।
नेपाल सरकारको विकास बजेटअन्तर्गत करिब ४५ करोडको लागतमा निर्माण भएको ५ सय ३१ मिटर लम्बाइको पुल बाढीले बगाउने हो कि भन्ने चिन्ता बढेको राजापुर ४ की स्थानीय रुक्मणी चौधरी बताउनुहुन्छ ।
लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश जोडने सत्ती पुलको अन्तिम पिलरसँगै बनाइएको तटबन्धको तारजाली वर्षेनी भाँसिदै जाने गरेको छ । कर्णाली नदीमा राजापुर क्षेत्रतर्फ धार परिवर्तन गरी पानी बग्न थालेकाले पुलको किनार भासिने खतरा बढेको छ ।
पानीको सतह बढेसँगै नदि किनार हुदै तलबाट कटान हुने र ठूला ठूला प्वाल पारि आवतजावत समेत ठप्प हुने गरेको छ । रसुवा जेभि कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको पुल जोखिममा पर्दा समेत कसैको ध्यान जान नसकेको राजापुर ४ का स्थानीय राजेन्द्र कुमार वैश्यको गुनासो छ ।
पुल निर्माणका क्रममा स्पानको संख्या कम हुँदा पटक–पटक पुलमा क्षति पुगेको छ । करोडौंको लगानीको पुल जोगाउन स्थानीयले बेलैमा ध्यान दिन आग्रह गर्दै आएका छन् । बर्दिया र कैलालीको सेतुको रुपमा रहेको पुलको राजापुर तर्फको पहिलो र दोश्रो स्पानको विचमा धसिएर पुलनै बाङ्गो भएपछि यो पुलपनि जव्दी घाट पुलजस्तै हुने होकि भन्ने स्थानीयको चिन्ता छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले कर्णाली नदि नियन्त्रण आयोजनाले तटबन्ध गरि पुललाई जोखिमबाट बचाउने प्रयास गरिरहको बताउनुभयो ।
पुलको पूर्वी राजापुर तर्फको किनारामा एउटा पिलर थप गर्नुपर्नेमा तटबन्धको भरमा छाँडीदा सत्ती पुल नदी कटानको जोखिममा परेको थियो ।
पुलमा बढी क्षति हुन नदिन र यसलाई टिकाउ बनाउन बेलैमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्