
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शैक्षिक क्षेत्रमा पाकिस्तान सरकारले पुर्याएको सहयोगको प्रशंसा गर्नुभएको छ ।
नेपालस्थित पाकिस्तानी राजदुतावासले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न काठमाडौंमा गरेको कार्यक्रममा उहाँले विगतदेखिनै पाकिस्तान सरकारले नेपालको शिक्षा, स्वास्थ्य, खेलकुद र सञ्चारजगतमा गरेको सहयोगका प्रशंसा गर्नुभयो ।
उहाँले नेपाल र पाकिस्तानबीचका सम्बन्ध समधुर रहेको भन्दै छात्रवृत्तिमा पाकिस्तान पढ्न जाने र नेपालमा रहँदासमेत छात्रवृत्तिमा पढ्नेको संख्या बढ्दै गएको बताउनुभयो ।
उहाँले शिक्षाबाटै मुलुकको आर्थिक विकास सम्भव हुने भन्दै सहयोग निरन्तरताको लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो । नेपालका लागि पाकिस्तानका राजदुत अवहर एच हासमीले नेपालको शिक्षा, स्वास्थ्यलगायत विकासको क्षेत्रमा पाकिस्तान सरकारले सहयोग गरी रहने बताउनुभयो ।
उहाँले दुई देशका जनताबीचको सम्बन्ध प्रगाढ रहेको भन्दै छात्रवृत्ति कार्यक्रमले थोरै भए पनि विद्यार्थीलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल भरका ४३ वटा विद्यालयहरुको प्रतिनिधित्व गर्दे आएका १ सय ९८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरीएको थियो ।
प्रतिक्रिया दिनुहोस्