
काठमाडौं । नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतमा सफा र पूजा-आराधना गरी सिथि नखः पर्व मनाएका छन् ।
हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन पानीका स्रोतमा पूजा आराधना यो पर्व मनाउने गरिन्छ ।
यसबारेमा मार्कण्डेयलगायत पुराणमा सिठी देवताका रुपमा पुज्ने गरिन्छ । सिथि नखः पर्वका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका पानीका मुहानमा सरसफाइ गरिएको छ । यो पर्व विशेषगरी नेवार समुदायको बाहुल्य रहेका स्थानमा मनाउने गरिन्छ ।
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका नेवार समुदायले बिहीबार विशेष गरी यो पर्व मनाउने भक्तपुरको क्वाठन्डोका सूर्यबहादुर मुस्याख्वले बताउनुभयो । उहाँले नेवार समुदायले बिहीबार पानीका मुहानको सरसफाई गरेर यो पर्व मनाउने गरिएको बताउनुभयो ।
आजकै दिन कुमार षष्ठी पर्व पनि मनाइएको छ । देवताहरुका सेनापति कुमार कार्तिकेयको पूजा आरधना एवं व्रत गरी यो पर्व मनाउने परम्परा छ । सत्य युगमा महादेवका ज्येष्ठ सुपुत्रका रुपमा कुमार कार्तिकेय जन्मिएको सम्झनामा उहाँको पूजा आराधना गरी यो पर्व मनाउने गरिएको हो ।
षष्ठीबाट अपभ्रंश भइ कुमार कार्तिकेयलाई सिठी पनि भन्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्