
काठमाडौं । बागमती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ ।
बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले बिहीबार सार्वजनिक गाडीको भाडा घटाएको हो । नेपाल आयल निगमले डिजलको भाउ घटाएको नौँ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो ।
मन्त्रालयले घटाएको भाडा दर आजै राजपत्रमा प्रकाशित भएको छ। काठमाडौं उपत्यकाभित्र ५.९ प्रतिशतले तथा उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक गाडीमा ४.१८ प्रतिशत र मालवाहक गाडीमा ५.६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताउनुभयो ।
यसअघि डिजेलको मूल्य बढेको बेला लामो दूरीको गाडीभाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको मूल्य घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।
गएको चैत २० गते डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर रु. १०र१० र पेट्रोलमा रु. तीन मूल्य घटाएको निगमले अघिल्लो हप्ताको बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर रु १०र१० ले मूल्य घटाएको थियो ।
घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको रु. एक सय ५५ कायम भएको छ । अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको गाडी भाडा बढेको थियो । बढेको भाडाअनुसार यात्रुले काठमाडौं उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने वित्तिकै रु. २० भाडा तिर्दै आइ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्