३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम जनतासँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे


78
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम जनतासँग जोडिनुपर्ने बताउनुभएको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहजीकरणमा बिहीबार पोखरामा आयोजित नेपाल सरकार, प्रदेश सरकार र विकास साझेदारबीचको अन्तरक्रियामा उनले जनताको आर्थिक तथा सामाजिक पक्ष कसरी अभिवृद्धि गर्न सकिन्छ भन्नेतर्फ कार्यक्रम केन्द्रित हुनुपर्ने बताउनुभयो ।

प्रदेश र स्थानीय तह मिलेर जनताको रोजगारी कार्यक्रम कसरी अघि बढाउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पाण्डेले अबका कार्यक्रम आर्थिक अभिवृद्धिसँगै पूर्वाधारको विकास आदितर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।

उहाँले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा. कृष्णहरि पुस्करले सरोकारवाला बीचको छलफल एवं अन्तरक्रियाका आधारमा आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने गरी अघि बढाइने बताउनुभयो ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सम्बन्धमा जानकारी दिँदै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव स्कीम श्रेष्ठले यो कार्यक्रम संविधान बमोजिम संघिय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहेको बताउनुभयो ।

प्रदेश र स्थानीय शासन प्रणाली र प्रक्रिया एवं अन्तर सरकारी सम्बन्ध सुदृढ गरी नागरिकका लागि सहकारी सङ्घीयताका लाभ अभिवृद्धि गराउनु कार्यक्रमको उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो । प्रादेशिक तथा स्थानीय तहको क्षमता अभिवृद्धि गरी नागरिक सेवा र विकास व्यवस्थापनलाई प्रभावकारी बनाउनु पनि कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।