११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


आगामी आवको बजेट साढे १६ खर्बको हाराहारीमा


3.302k
Shares

काठमाडौं । आर्थिक वर्ष २०८० ८१ का निम्ति सरकारले चार दिनपछि अनुमानित आयव्ययसहितको बजेट ल्याउँदैछ ।

जेठ १५ गते सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप यतिबेला धमाधम बजेट लेखन भइरहेको छ । जसका निम्ति बिहीबारदेखि जेठ १६ गतेसम्मका लागि मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ ।

सरकारले आगामी आर्थिक वर्षका निम्ति राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट सिलिङ तोकेको छ । सिलिङकै वरिपरि बजेट आउने अर्थ मन्त्रालय स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दियो ।

यसपटक विगतमा जस्तो बजेटको अंक बढाउन सक्ने अवस्था छैन । स्रोत संकुचित हुँदै गएकाले सिलिङभित्रै बजेट निर्माण गर्नुपर्ने बाध्यता सरकारलाई रहेको स्रोतको भनाइ छ ।

सरकारले चालू आर्थिक वर्षमा योजना आयोगले दिएको सिलिङभन्दा ४३ अर्ब रुपैयाँ वृद्धि गर्दै १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ को बजेट प्रस्तुत गरेको थियो ।

तर, चालू आर्थिक वर्षको न्यून पुँजीगत खर्च र राजस्व संकलनमा भएको संकुचनका कारण साढे १५ खर्ब रुपैयाँ मात्रै बजेट खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।