१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रेशम चौधरीलाई माफी दिने कुरा कानुन बमोजिम गर्नु भन्दै राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा निवेदन फिर्ता पठायो


2.47k
Shares

काठमाडौं । टीकापुर घटनाका दोषी रेशम चौधरीले राष्ट्रपति कार्यालयमा आफूलाई सजाय माफी गर्दै कैद मुक्त गर्न दिएको निवेदन राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रालयमा फिर्ता पठाउनु भएको छ ।

जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा आफूलाई सजाय माफी दिन भन्दै चौधरीले राष्ट्रपति कार्यालयमा निवेदन दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीका अनुसार राष्ट्रपति कार्यालयले आम माफीसम्बन्धी प्रचलित कानुन, यस सम्बन्धि अदालतका फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको हो ।

२०७२ भदौ ७ मा कैलालीको टिकापुरमा थरुहट समर्थक प्रदर्शनकारीको आक्रमणबाट प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालकको हत्या भएको थियो । उक्त हिंसात्मक घटनामा चौधरी दोषी ठहर भएर २०७४ फागुनदेखि थुनामा रहेर जन्म कैदको सजाय काटिरहेका छन् । उनले बाँकी सजाय मिनाह गर्न गृहमन्त्रालय मार्फत राष्ट्रपति समक्ष निवेदन दिएका थिए ।

यसै गरी टिकापुरमा हत्या भएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहराले चौधरीलाई सजाय माफी नदिन भन्दै राष्ट्रपति कार्यालयमा दिएको निवेदन पनि कार्यार्थ गृह मन्त्रालयमा पठाइएको पनि प्रेस संयोजक कार्कीले जानकारी दिनुभयो । सरकारले चौधरीलाई सजाय माफी दिन लागेको समाचार बाहिर आएपछि शारदाले राष्ट्रपति कार्यालयमा चौधरीलाई माफी नदिन भन्दै निवेदन दिनुभएको थियो ।