
नवलपरासी । नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले प्रहरी प्रशासनको सहयोग नपाउँदा नारायणी नदीमा भइरहेको दोहन रोक्न नसकेको गुनासो गर्नु भएको छ ।
सुस्ता गाउँपालिकामा पर्ने गण्डक क्षेत्रको ए ग्याब र बि ग्याब मा रहेका स्पर ठोकर र बाँधको अहिले मर्मत भइरहेको छ । संरचनाहरु जीर्ण भएपछि नदी छेउमा निर्माण गरिएका बाँधलाई चौडा गर्ने र स्परहरुको मर्मत र नयाँ निर्माण गरिदैं छ ।
निर्माणका लागि आवश्यक पर्ने नदीजन्य पदार्थ (बालुवा,गिट्टी) अवैध रुपमा निकालिरहेको र त्यसलाई रोक्न गाउँपालिकाले जिल्ला प्रशासन, जिल्ला प्रहरी र जिल्ला समन्वयमा पत्र पठाए पनि बेवस्ता गरेको उहाँको आरोप छ ।
रोयल्टी लिएर ३० हजार घनफिट गिट्टी, बालुवा र ग्राभेल निकाल्न दिएपनि पछिल्लो पटक रोयल्टी नै नतिरी नदीजन्य पदार्थ निकालेको उहाँले बताउनुभयो । गाउँपालिकाले नदीजन्य पदार्थ निकाल्नका लागि वडा नम्बर ५ मा पर्ने नदी किनारलाई तोकेको छ । तर, भारतीय पक्षले भने अन्यत्रबाट समेत नदीजन्य पदार्थ निकाल्दै आएको छ ।
निकालिएका नदीजन्य पदार्थ गण्डकको निर्माण कार्यबाहेक अन्यत्रसमेत लैजाने गरेको स्थानीयले बताएका छन् । जथाभावी रुपमा नदीजन्य पदार्थ दोहन भएको जानकारी पाएपछि जिल्ला अनुगमन समितिले समेत त्यस क्षेत्रको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा भारतीय पक्षले रोयल्टी नतिरी तोकिएको स्थानभन्दा बाहिर गएर जबरजस्ती नदीजन्य पदार्थ निकालेको पाइएको समितिका संयोजक एंव जिल्ला समन्वय समितिका प्रमुख रुद्धल यादवले बताउनुभयो ।
अहिले दोहन गरेर नदीजन्य पदार्थ निकालेको क्षेत्रमा जोखिम समेत बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्