
धनकुटा । धनकुटामा पशुमा लाग्ने लम्पी स्किन रोगले महामारीको रुप लिदै गएको छ ।
महामारी बढ्दै गएपछि छथर जोरपाटी गाउँपालिकाले गाउँपालिकामा घुम्ती स्वाथ्य शिविर सुरु गरेको छ । पछिल्लो समय गाउँपालिका भित्रका सबै वडामा रोग देखिएपछि घुम्ती शिविर आयोजना गरी लम्पी स्किन रोगको उपचार रोकथाम र जनचेतना फैलाउने काम भइरहेको छथर जोरपाटी गाउँपालिका पशुपन्छी विकास शाखा प्रमुख राजकुमार राईले जानकारी दिनुभयो ।
लम्पी स्किनको औषधि नभएपनि पशुहरुमा देखिएको लक्षणका आधारमा उपचार गरिँदै आएको छ । पालिकाले औषधी खरिद गरि उपचार गरिरहेको भए पनि बजारमा समेत औषधी अभाव भएकोले उपचारमा कठिनाई भइ रहेको राईले बताउनुभयो ।
रोग लागे पछि पशुहरुको जउँमा फोका आउने, उच्च ज्वरो आउने, आँखा बाट कचेरा आउने, दानापानी खान रुची नदेखाउनेलगायतका लक्षण देखिने गरेको र रोग लागेको पशुको मृत्यु हुने दर ७ प्रतिशत सम्म रहने पशु चिकित्सकहरुको भनाइ छ । छथर जोरपाटीमा मात्र यो रोगका कारण १९ वटा पशु चौपाय मरेका छन् भने करिब ५ हजारको हाराहारीमा बिरामी रहेको गाउँपालिकाको पशुपन्छी विकास शाखाले जनाएको छ ।
महामारीकै रुपमा रोग फैलिएको भए पनि अन्य निकाय भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, प्रदेश सरकार, संघीय सरकारबाट कुनै किसिमको सहयोग भएको छैन ।
प्रतिक्रिया दिनुहोस्