
काठमाडौं । राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर आर्थिक वर्ष २०८३/०८४ सालसम्म सम्पन्न हुने भएको छ ।
सरकारले २०८१ सम्मको लक्ष्य राखेपनि भौगोलिक कठिनाइका कारण बढी समय लाग्ने बताइएको हो ।
कालीगण्डकी करिडोरअन्तर्गत गैंडाकोट-राम्दी सम्मको सडकखण्ड भने हालसम्म ६० प्रतिशत प्रगति भएको छ ।
आयोजनाको अवलोकन एवं निरीक्षण गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सडकखण्डको निर्माणको कामले तिब्रता पाएको बताउनुभयो । उहाँले देशभरका निर्माणका काममा ढिलासुस्ती भएपनि कालीगण्डकी करिडोरको काम चुस्त रुपमा भइरहेको पाएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
उहाँले राम्दीदेखि रानीमलसम्मको काम भने सुस्त भएको बताउनुभयो । उहाँले कालीगण्डकी करिडोर धार्मिक मात्रै नभइ त्रिदेशीय व्यापारिक मार्गका रुपमा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशले अब त्रिदेशीय मार्गको उचित लाभ लिन सक्नुपर्ने बताउनुभयो । उहाँले कालीगण्डकी करिडोरको सम्पूर्ण काम ढिलोमा तीन वर्षसम्म पूरा गर्न सकिने बताउनुभयो ।
त्यस्तै, राष्ट्रिय सभा सदस्य राजेन्दलक्ष्मी गैरेले कालीगण्डकी करिडोरको काम उल्लेख्य रुपमा राम्रो भएपनि पुल निर्माणमा भने समस्या देखिएको बताउनुभयो । उहाँले कालीगण्डकी डाइभर्सनको कुराले धेरैलाई चिन्तित बनाएको भन्दै यसमा आवश्यक ध्यान जानुपर्नेमा जोड दिनुभयो । उहाँले विकास युवालाई रोजागरी सिर्जना गर्ने र धार्मिक संरचना नमास्ने गरी काम गर्न जरुरी रहेको बताउनुभयो ।
त्यस्तै, लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले कालीगण्डकी करिडोरको स्तरोन्नतिका लागि धेरै काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले विकाससँगै करिडोर जोडिएका क्षेत्रहरुमा रोजगारी र उत्पादन क्षेत्रमा जोड दिनुपर्ने बताउनुभयो । त्यस्तै, गैँडाकोट-राम्दी सडकखण्डसम्मका आयोजना प्रमुख शंकर पौडेलले कालीगण्डकी करिडोर धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा नै महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले अहिले काम भइरहेको केही ठाउँमा काम ढिलासुस्ती भइरहकाले नयाँ ठेक्का दिनुपर्ने आवश्यक्ता देखिएको बताउनुभयो । उहाँका अनुसार प्राकृतिक विपद् लगायतका केही कारणले कतिपय ठाउँमा सडक निर्माणको ठेक्का दिइ नसकिएको उल्लेख गर्नुभयो ।
उहाँले सडकखण्डका केही ठाउँमा पुल बनाउन आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । गैँडाकोट–राम्दीसम्म यस आर्थिक वर्षमा ७५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखेपनि अहिलेसम्म भौगोलिक समस्याका कारण ५० प्रतिशतमात्रै काम सम्पन्न भएको र बाँकी समयमा यस आर्थिक वर्षमा ७० प्रतिशतसम्म सडक कालोपत्रे गर्ने बताउनुभयो । उहाँले ठेक्कापट्टलाई आधार मान्दा गैँडाकोट-राम्दी सडकखण्डमा ६० प्रतिशत भौतिक प्रगति हाँसिल भएको उल्लेख गर्नुभयो ।
त्यस्तै, पाल्पाको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले कालीगण्डकी नदीलाई पथान्तरण गर्नेकुरा गम्भीर विषय भएको बताउनुभयो । उहाँले राम्दीदेखि देवघाटसम्म पैदल मार्ग र साइक्लिङ रुट बनाउनसके यसको महत्व झनै बढ्ने बताउनुभयो ।
उहाँले कालीगण्डकी नदीको महत्व र नदीसँग जोडिने धार्मिक स्थलहरुको महत्वलाई जोडेर कालीगण्डकी करिडोर बनेको र यसलाई अझै प्रचार प्रसार गर्न आवश्यक रहेको बताउनुभयो । चार सय ४० किलोमिटर लामो यस सडक निर्माणका लागि दुईवटा कार्यालयबाट काम भइरहेको छ ।
गैँडाकोट-राम्दी-मालढुङ्गा (दक्षिण) खण्डको दुई सय ४० किलोमिटरका लागि पाल्पा कार्यालय तथा मालढुङ्गा-कोरला (उत्तर) खण्डको दुई सय किलोमिटर खण्डका लागि जोमसोम कार्यालयबाट काम भइरहेको छ ।
गैँडाकोट-राम्दी-मालढुङ्गा खण्डमा ५७ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म २७ वटा पुल निर्माण भइसकेको छ । गैँडाकोट-राम्दी-मालढुङ्गा खण्डको कुल २५ अर्ब लागत रकम रहेकोमा हालसम्म कुल १२ अर्ब बराबरको ठेक्कापट्टा व्यवस्थापन भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्