८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एमालेद्वारा कीर्तिमानी सगरमाथा आरोही बुढामगरलाई सम्मान


156
Shares

काठमाडौं । नेकपा (एमाले)ले कृतिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आईतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालमा एक कार्यक्रमको आयोजना गरी सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल उहाँलाई पुष्पगुच्छासहित सम्मान गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उहाँको सगरमाथाको सफल आरोहण अपांगता भएका व्यक्तिहरुको मात्रै नभएर सबै नेपालीहरु र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताउनुभयो । मान्छे साहस, संकल्प ग¥यो भने जस्तोसुकै कठिन काम पनि गर्न सक्छ भन्ने उदाहरण उहाँले विश्वमानै पेश गर्नु भएकोले पार्टीले उहाँलाई सम्मान गरेको पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले उहाँको सो सफलता नेपाल र नेपालीको मात्रै सफलता नभएर विश्वकै सफलता भएको पनि उल्लेख गर्नुभयो । उहाँको सो असाधारण काममा सघाउ पुर्‍याउने र प्रेरणा दिनेहरुप्रति पनि ओलीले आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै कीर्तिमानी सगरमाथा आरोही बुढामगरले अपांगता भएका व्यक्तिहरुमा जागरण ल्याउने उद्देश्यले आफूले सगरमाथा आरोण गरेको बताउनुभयो । त्यस अवसरमा उहाँले अपांगता भएका व्यक्तिहरुलाई दया र माया भन्दा पनि साथ र अवसर दिन आग्रह गर्नुभयो ।

बुढामगरले आफ्नो सगरमाथा आरोहणले नेपाल र नेपालीको शिर सगरमाथा भन्दा उचो राख्न सहयोग पुगेको होला भन्ने आशा आफूले राखेको पनि बताउनुभयो ।

ब्रिटिस गोर्खा सेनामा कार्यरहँदा रहँदा बुढामगरले दुवै खुट्टा गुमाउनु भएको थियो ।