१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक : रघुजी पन्त


520
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

राष्ट्रपति कार्यालयमा थन्किएको सो विधेयक राष्ट्रपतिलाई प्रमाणिकरणका लागि सिफारिस गरिएको भन्ने प्रधानमन्त्री दाहालको अभिव्यक्ति संविधान, कानून र लोकतन्त्रको पनि भावना विपरित रहेकाले त्यसप्रति आफूहरुको आपत्ति रहेको उहाँले बताउनुभयो ।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा सांसद पन्तले सो विधेयक तत्काल संसदमा ल्याएर पारित गराउनुपर्ने उल्लेख गर्दै त्यसका लागि आफ्नो पार्टी तयार रहेको समेत बताउनुभयो । सांसद पन्तले संविधान विपरित हुने भएकाले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि सो विधेयक संसदमा नआई प्रमाणीकरण नगर्न आग्रह गर्नुभयो ।

सांसद पन्तले गिटी, ढुंगा र बालुवा भारतमा निकासी गर्ने प्रधानमन्त्री दाहालको अभिव्यक्तिप्रति पनि आपत्ति जनाउनुभयो । प्रधानमन्त्री दाहालले गत शनिबार सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा राष्ट्रपति कार्यालयमा थन्किएर बसेको विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको बताउनु भएको थियो । प्रधानमन्त्रीको सो अभिव्यक्तिप्रति सांसद पन्तको आपत्ति छ ।