
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको सरकारले बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।
उहाँले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको प्रभाव तथा थोक तथा खुद्रा व्यापार, निर्माण र उत्पादन मुलक उद्योगको उत्पादन लगायत समग्र आर्थिक क्रियाकलापमा संकुचनका कारण चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सिमित हुने अनुमान रहेको बताउनुभयो । उहाँले वस्तु आयातमा भएको संकुचन तथा मागमा आएको कमीले स्रोत व्यवस्थापनमा समेत दवाव सिर्जना भएको बताउनुभयो ।
अर्थमन्त्री डा. महतले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले समग्र मूल्यमा दबाब परेको भन्दै यस्तो अवस्था क्रमशः कम हुँदै गएको समेत बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थको मूल्य क्रमशः कम हुने क्रमले निरन्तरता कायम रहे मूल्यमा परेको दबाब कम हुने अपेक्षा सरकारको रहेको बताउनुभयो ।
उहाँले गत आर्थिक वर्षमा वाह्य क्षेत्रमा देखिएको दबाब व्यवस्थापनको लागि अवलम्वन गरेको आयात नियमन र नियन्त्रण नीतिको पुनरावलोकन र रेमिट्यान्समा भएको सुधारको फलस्वरुप बाह्य क्षेत्र सन्तुलनमा सुधार भएको बताउनुभयो ।
उहाँले मुलुकको शोधानान्तर स्थिति वचतमा रहेको भन्दै विदेशी मुद्रा सञ्चिती ९.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न प्राप्त रहेको दाबी गर्नुभयो । उहाँले पर्यटन आगमनमा पनि उल्लेखिय वृद्धि भइ वित्तीय पुँहच बिस्तार भएको बताउनुभयो ।
उहाँले संघीय सरकारले निर्माण गरेको सडकको लम्बाई १३४ हजार १ सय किलोमिटर पुगेको बताउनुभयो । अर्थमन्त्री डा. महतले कुुल जडित विद्युत क्षमता २६ सय ६६ मेगावट पुगेसँगै विद्युत निर्यात हुन थालेको बताउनुभयो ।
अर्थमन्त्री महतले सार्वजनिक संस्थामा सरकारको शेयर तथा ऋण लगानी २०७९ असारसम्म ६ खर्ब १८ अर्ब पुगेको बताउनुभयो । उहाँले सार्वजनिक संस्थामा व्यवस्थापन कमी कमजोरीको कारण समग्र वित्तीय स्थिति सन्तोषजनक हुन नसकेको बताउनुभयो ।
उहाँले नेपाल सरकारको लगानीमार्फत सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २५ वटा मात्रै नाफामा सञ्चालित रहेको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७८/७९मा सार्वजनिक संस्थानबाट नेपाल सरकारले ६ अर्ब १६ करोड बराबरको लाभांश अर्थात लगानीको १ प्रतिशत लाभाशं प्राप्त भएको बताउनुभयो ।
अर्थमन्त्री महतले सार्वजनिक संस्थानको कुल सञ्चालन आय ३६.२ प्रतिशत वृद्धि भएर ५ खर्ब ७५ अर्ब पुगेको बताउनुभयो । उहाँले प्रभावकारी रुपमा सञ्चालन हुन नसकेका र सार्वजनिक क्षेत्रमा राख्न आवश्यक नभएका संस्थानको पहिचान गरी थप पुँजी प्रविधि र सक्षम व्यवस्थापनसहित निजी क्षेत्रबाट सञ्चालन गर्न आवश्यक देखिएको बताउनुभयो । उहाँले सार्वजनिक क्षेत्रभित्र राख्न सार्वजनिक संस्थानको संरचना र व्यवस्थापकिय सुधार आवश्यक रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्