
काठमाडौं । जनताको आवाज प्रकट गर्ने सार्वभौम संसदका जिम्मेवार जनप्रतिनिधिले संसद हाता नैै नटेकी पारिश्रमिक बुझ्ने गरेका छन् । ठूला दलका शीर्ष नेतृत्वले यस्ता बेथितिको नेतृत्व लिएको देखिएको छ । ३२ वर्षदेखि निरन्तर सांसद रही मुलुकको कार्यकारी पदमा पाँच पटक आसीन कांग्रेस सभापति शेरबहादुर देउवादेखि विकृत राजनीतिको जरो किलो उखेल्ने प्रतिवद्धतासहित आएका नयाँ दलमा पनि उही रोग सरेको छ ।
२०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन पुस २५ गते शुरु भएको थियो । बैशाख १५ सम्म चलेको अधिवेशनका १ सय १० दिनमा प्रतिनिधिसभाको २८ र संयुक्त सदनको एउटा बैठक बसेको थियो । कुनै पनि सांसद प्रतिनिधिसभाको सबै बैठकमा उपस्थित भएका छैनन् । बैशाख महिनामा प्रतिनिधिसभाका ६ बैठक बसेका थिए । हिउँदे अधिवेशनको अन्तिम महिनाका ६ बैठकमा १२ जना सांसद एकदिन पनि उपस्थित भएनन् ।
उपस्थित नहुनेमा कांग्रेस अजय चौरसिया, एमाले अमृतलाल राजवंशी, कांग्रेस किशोरसिंह राठौर, एमाले गंगा यादवलगायत सांसद उपस्थित भएनन् । यसैगरी जुली महतो, पृथ्वी सुब्बा गुरुङ, प्रतिक्षा तिवारी, मंगलप्रसाद गुप्ता, राजकुमार गुप्ता, लीलानाथ श्रेष्ठ र सराज अहमद फारुकी बैशाख १ देखि १५ सम्म संसदमा देखिएनन् । उपस्थित नभए पनि सांसदहरूले पाउने सुविधा भने छाडेका छैनन् ।संघीय संसद्का सांसदले सबै सुविधा गरी प्रतिमहिना ७२ हजार पाउने गरेका छन् । घर नहुनेले मासिक १८ हजार र हुनेले मर्मतका नाममा ९ हजार थाप्छन् ।
कांग्रेस सभापति देउवा पुस २५ देखि वैशाख १५ गतेसम्म चलेको संसदको हिउँदे अधिवेशन अन्तर्गत २०७९ फागुन महिनामा एक दिन पनि संसदमा हाजिरी देखिएन । संसदमा गयल भए पनि उहाँको खातामा राज्यकोषबाट तलब भने गएको छ । संसद सचिवालयको हाजिरी रेकर्डअनुसार खानेपानी मन्त्री महिन्द्र यादव, सांसद विक्रम पाण्डे, डा. सीके राउत, नबलकिशोर साह सुडी र भीमप्रसाद आचार्य गएको फागुनमा एक दिन पनि संसदमा पाइलो टेक्नुभएको छैन । शारीरिक अस्वस्थताका कारण वर्षमान पुन, चन्द्र भण्डारी महिनौंदेखि गयल हुनुहुन्छ ।
संसदको हिउँदे अधिवेशनमा देउवा २८ मध्ये ११ बैठकमा मात्र उपस्थित देखिनुभएको छ । संसदको दोस्रो ठूलो दल एमाले अध्यक्ष केपी शर्मा ओलीको देउवाभन्दा बाक्लो उपस्थिति देखिन्छ । ओली २८ मध्ये १४ बैठकमा सहभागी हुनुहुन्छ । संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल संसदका ९ बैठकमा मात्र उपस्थिति रहेको छ । प्रतिनिधिसभा सदस्य सभामुखलाई जानकारी नगराई लगातार १० बैठकमा उपस्थित नभए सांसद पद जान्छ । प्रधानमन्त्री र मन्त्रीको हकमा भने यो लागू हुँदैन ।
संसद अधिवेशन सुरु भएको केहीदिनमै सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरेर सांसद पद गएपछि चौथो दलनयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीसभापति रवि लामिछानेको पहिलो अधिवेशनमा धेरै उपस्थिति देखिँदैन । उपसभापति डीपी अर्यालको २८ मध्ये २४ बैठकमा उपस्थिति देखिएको छ । पाँचौं दल राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन २८ मध्ये १६ वटा बैठकमा सहभागी देखिनुभएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधव नेपाल शीर्षमध्ये धेरै उपस्थित हुने नेता रहनुभएको छ । २८ मध्ये २३ बैठकमा नेपालको उपस्थिति देखिन्छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी २८ मध्ये २६ बैठकमा हाजिर हुनुहुन्छ । पुस, माघ, फागुन र बैशाखमा केसीको सतप्रतिशत हाजिरी देखिन्छ । संसदको पहिलो अधिवेशनमा संसद्मा युवा पुस्ताका सांसदहरूको उपस्थिति पनि निराशाजनक देखिएको छ ।
संसदीय प्रणाली बुझेको र यसअघिका संसदमा सशक्त भूमिका खेलेका कांग्रेस महामन्त्री गगन थापा १५ वटा बैठकमा मात्र उपस्थिति छ । अर्का महामन्त्री विश्वप्रकाश शर्माको १९ वटा बैठकमा सहभागिता हुनुभएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक २३, एमालेका पदम गिरी १८ बैठकमा उपस्थिति रहेको देखिन्छ । देशको कानूनी र व्यवहारिक दृष्टिले ऐनाजस्तो देखिनुपर्ने संसदका विचित्र लीलाको समयमै उपचार हुन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्