८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


भारत भ्रमणका क्रममा हुने सम्झौतामा राष्ट्रिय सहमति हुन्छ : प्रधानमन्त्री दाहाल


364
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र परराष्ट्र मामिलाका जानकारहरुसँग सुझाव लिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न भारत भ्रमणलाई फलदायी बनाउने सन्दर्भमा सुझाव लिनुभएको हो ।

पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र यस क्षेत्रका विज्ञहरुसँग सुझाव लिने क्रम निरन्तर रहेको जनाउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘अहिलेसम्म सबैको सुझाव सकारात्मक छ, सबैले राष्ट्रको हितमा के गर्नुपर्छ भन्ने सकारात्मक सुझाव दिनुभएको छ।’

सञ्चारकर्मीले यस पटक गरिने सम्झौताहरुमा राष्ट्रिय सहमति हुन्छ भनी गरिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘राष्ट्रिय सहमति हुन्छ।’

प्रधानमन्त्री दाहालले यही जेठ १७ देखि २० गतेसम्म (मे ३१ देखि जुन ३ तारिख) भारतको औपचारिक भ्रमण गर्नुहुने छ । प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा सो भ्रमणमा जानलाग्नु भएको हो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले द्विपक्षीय सम्बन्ध राम्रो बनाउन सर्वप्रथम दुई देशबीच विश्वासको वातावरण हुनुपर्ने सुझाव दिएको बताउनुभयो । साथै उहाँले प्रधानमन्त्री दाहाललाई दुई देशबीचका विभिन्न मुद्दा समाधानका लागि प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन ग्रहण गर्नुपर्ने बताउँदै यसले समग्रतामा हल हुने सुझाव दिएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काले कार्यक्रममा प्रधानमन्त्री दाहालले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन र आर्थिक व्यापारिक, वाणिज्य, ऊर्जालगायत विविध विषयमा छलफल र सहमति हुने जानकारी गराउनुभएको थियो । सो अवसरमा पूर्वमन्त्री खड्काले राष्ट्रको हितलाई सर्वोपरि ठानेर आत्मविश्वासका साथ आफ्ना कुरा राख्न सुझाव दिएको जानकारी गराउनुभयो ।

अर्का पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको राष्ट्रिय हितमा दृढतापूर्वक उभिँदा प्रमुख प्रतिपक्ष दलको हिसाबले पूर्ण समर्थन हुने आफूले बताएको जानकारी दिनुभयो । साथै उहाँले भ्रमण र संवादका क्रममा इपिजी प्रतिवेदन ग्रहण गर्नका लागि जोड दिन, ऐतिहासिक तथ्यका आधारमा सिमानाको विषय समाधान गर्न, व्यापार घाटा कम गर्नका लागि नेपालमा उत्पादित सामग्री प्रवेशमा भारतलाई उदार हुनका लागि पहल गर्न, विभिन्न जलविद्युत् आयोजना अघि बढाउन पहल गर्नेलगायत विषयमा आफूले सुझाव दिएको बताउनुभयो ।

पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ र नेपाली जनताको आत्मसम्मानलाई दृष्टिगत गरेर तथा केन्द्रित भएर मित्रराष्ट्र भारतसँग आपसी हितका कुराकानी गरेर विश्वासको वातावरण बनाउन सुझाव दिनुभयो ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले प्रधानमन्त्री दाहालले दुई देशबीच सहयोगका बारेमा यसपालि सहमति बन्ने, समझदारी हुने र केही विषयमा सम्झौतामा हस्ताक्षर हुने जानकारी गराएको बताउँदै सिमानाको विषय समाधानका लागि अध्ययन गरेर दह्रो भएर कुरा राख्न आफूले सुझाव दिएको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री दाहालले यसपटकको भारत भ्रमणका क्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यसैगरी, जेठ १८ गते भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने छ भने वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने छन् ।

प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भारत भ्रमण हो ।