१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले खेलाडीहरु स्वरोजगार बन्न चाहे सहुलियतपूर्ण कर्जा प्रदान गर्ने


208
Shares

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/०८१ लाई युवा उद्यमशीलता प्रवद्र्धन वर्षका रुपमा मनाउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताउनुभएको हो । उहाँले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरेको बताउनु भयो । अर्थमन्त्री महतले राष्ट्रिय युवा परिषद्मार्फत विकास निर्माण तथा समाजसेवा युवा स्वयंसेवक परिचालन गरिने बताउनु भयो ।

उहाँले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको रुपमा विकास गर्ने बताउनु भयो । अर्थमन्त्रीले मुलपानी क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्ने, विराटनगरको गिरिजाप्रसाद क्रिकेट स्टेडियम, बैतडीको दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीको फप्ला क्रिकेट रंगशाला र काठमाडौंको सुवर्ण समशेर क्रिकेट रंगशाला निर्माण कार्य अघि बढाउन बजेट व्यवस्थापन गरेको बताउनु भयो ।

उहाँले निर्माणाधीन, धनगढी, इटहरी, पोखरा र नेपालगञ्जको रंगशालाको प्रदेश कभर्ड हल निर्माणका लागि बजेट व्यवस्था गरेको बताउनु भयो । उहाँले १९ औं दक्षिण एशियाली खेलकुद र १० औँ राष्ट्रिय खेलकुदको तयारीका लागि खेलाडीलाई आवश्यक प्रशिक्षण दिन बजेट व्यवस्था गरेको पनि बताउनु भयो ।