१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सगरमाथामा मानव पाइला टेकोको ७० वर्ष पूरा, ६ हजार ३३८ जना गरे सफल आरोहण, ३ सय जनाले ज्यान गुमाए


130
Shares

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला टेकेको ७० वर्ष पुगेको छ । पहिलो सफल आरोहणपछिका ७ दशकको अवधिमा ६ हजार ३ सय ३८ जनाले ११ हजार ३ सय ४१ पटक सगरमाथा आरोहण गरिसकेका छन् । पहिल्लो समय एकातिर सगरमाथा आरोहण साहास र प्रतिष्ठाको विषय मात्र नभई यसलाई अनेकौं कीर्तिमान कायम गर्ने होडबाजी चुलिएको छ भने अर्कातिर नेपालको पर्यटन विकासका लागि पर्वतीय पर्यटन महत्वपूर्ण भएपनि सरकारले यसलाई बेवास्ता गरेको सरोकारवालाहरुको गुनासो छ ।

२०१० जेठ १६ गते तेन्जीङ नोर्गे शेर्पा र सर एडमन हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । तत्कालिन समयमा सीमित विदेशीले मात्र नेपाल प्रवेश पाउने हुँदा सगरमाथा आरोहणका सवै प्रयास उत्तरी मोहडाबाट गरिन्थ्यो । दोस्रो पटक २०१३ सालमा सालमा स्वीस आरोहण दलका चार जना सगरमाथाको चुचुरोमा पुग्न सफल भए । २०१४ देखि २०१६ सालसम्म कसैले सगरमाथा आरोहण गरेनन् भने २०१७ सालमा चिनियाँ टोलीले उत्तरी मोहडाबाट सगरमाथाको सफल आरोहण ग¥यो ।

२०२० सालमा अमेरीकी टोलीले आरोहण क्रममा सधैं प्रयोग हुने फरक रुट प्रयोग गरि पहिलो प्रयासमै नयाँ कीर्तीमान राख्न सफलभयो । तर, २०२७ सालमा ब्रिटिश, २०२८ सालमा अर्जेन्टिनी, २०२९ मा युरोपका विभिन्न देशको संयुक्त टोलीले आरोहण प्रयास गरे पनि सफल भएनन् ।

२०३२ सालमा जापानकी जुन्को ताबेईले आठ हजार मिटर माथि पुग्ने महिलाको रेकर्ड तोड्दै सगरमाथाको चुचुरोमै पुग्ने पहिलो महिलाका रूपमा आफ्नो नाम लेखाउन सफल भईन । २०३५ मा अस्ट्रियन आरोहण अभियानमा सहभागी चर्चित आरोही रेनहोल्ड मेसनर र पिटर ह्याबलरले तिब्बती मोहडाबाटे कृत्रिम अक्सिजन विनै सगरमाथा चढेको कीर्तिमान बनाउन सफल भए ।

सगरमाथा आरोहण आरम्भपछिको ३० वर्षमा १५७ जनाले मात्र सफल आरोहण गरेको तथ्याङ्क छ । यस्तै, त्यसपछिको २० वर्ष २०४१ देखि २०६० मा १ हजार ५१ जनाले सगरमाथाको आरोहण गरेका छन् । २०६१ सालयता सगरमाथा आरोहण गर्नेको भिड थामिनसक्नु छ । २०७६ सालमा मात्र ६ सय ४४ जना चुचुरोमा पुगे । यो तीन वर्षमा दक्षिणी भागबाट मात्रै दुई हजार ७० जनाले सफल आरोहण गरे ।

२०७८ मा ४ सय ५९ र २०७९ मा ६ सय ५८ जना चुचुरो पुग्न सफल भए । यो आँकडाले आरोहणमा सफल हुनेको संख्यासँगै आरोहणको आकांक्षा झन् झन् बढिरहेको देखाउँछ । तर, नेपालको पर्यटन विकासमा पर्वतीय पर्यटन महत्वपूर्ण भएपनि सरकारले यसलाई महत्व नदिएको नेपाल पर्वतारोहण संघका अध्यक्ष .निमा नुरु शेर्पा बताउनुहुन्छ ।

तर, पछिल्लो समय सगरमाथालाई जोडेर अनेक कीर्तिमान बनाउने होडबाजी समेत बढेको छ । यस्ता किर्तिमान राख्नेमा उल्लेख्य संख्यामा नेपाली छन् । हिमचितुवा उपनामले प्रख्यात आङरिता शेर्पा २०४० सालमा पहिलो पटक बिना अक्सिजन सगरमाथा चढेको विश्वकीर्तिमान बनाउन सफल भए । यस्तै, २०४४ सालमा हिउँदकोे समयमा पनि त्यसै गरी आरोहण गर्न उनी सफल भए । यस्तै, बाबु छीरी शेर्पाले कृत्रिम अक्सिजन नलगाई लगातार २१ घण्टा चुचुरोमा बसी विश्वकीर्तिमान कायम गरे ।

सोलुखुम्बुका ल्हाक्पा गेलु शेर्पाले २०६० सालमा आधारशिविरबाट १० घण्टा ५७ मिनेटमै चुलीमा पुगेर सबैभन्दो छोटो अवधिमा सगरमाथा चढेको कीर्तिमान बनाउन सफल भए । यस्तै, दुवै खुट्टा नभएका हरि बुढा मगरले सगरमाथाको सफल आरोहण गरेर विश्वलाई चकित बनाएका छन् । आरोहणको सफलतासँगै दुर्घटनाका दुःखान्त घटना पनि थुप्रै छन् । आजसम्म सगरमाथा आरोहण क्रममा ज्यान गुमाउनेको संख्या ३ सय नाघेको छ ।