
काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको बताउनुभएको हो ।
उहाँले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेको बताउनुभयो । सरकारले भौतिक पूर्वाधार मन्त्रालयको चालु आर्थिक वर्षको भन्दा आगामी वर्षको ३० अर्बले बजेट घटेकाको छ ।
त्यस्तै, सरकारले नारयणगढ बुटबल खण्ड सडक विस्तारलाई ३१ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभयो । अर्थमन्त्री महतले पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तिब्रता दिइने बताउनुभयो । उहाँले नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको बिस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताउनुभयो ।
उहाँले कमला –ढल्केवर, पथलैया वुटवल, गोरूसिङ्गे, काकडभिट्टा, लौकही, पथलैया, नारायणगढ र लमही–भालुवाङ्ग सडक खण्डको स्तरोन्नति शुरू गरिने भएको बताउनुभयो । नारायणी नदी र तिनाउ नदीमा पुल निर्माण शुरू गर्ने बताउनुभयो । उहाँले पूर्व–पश्चिम राजमार्गको बिस्तार तथा स्तरोन्नतिका लागि १ अर्ब २ करोड विनियोजन गरेको बताउनुभयो । उहाँले नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने बताउनुभयो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्लाको सिमीकोटलाई आगामी आर्थिक वर्षमा सडकले जोडिने बताउनुभयो । उहाँले जसका लागि ९७ करोड विनियोजन गरिएको बताउनुभयो । उहाँले कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण गरिने बताउनुभयो । उहाँले सरकारले राजमार्ग र रणनीतिक सडक अन्तर्गत आगामी आर्थिक वर्षमा १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने बताउनुभयो ।
अर्थमन्त्री महतले पुल निर्माणका लागि २ अर्ब ८ करोड विनियोजन गरेको बताउनुभयो । उहाँले सूर्यविनायक धुलिखेल सडक खण्डको विस्तार कार्य अघि बढाउन आवश्यक रकम समेत सरकारले विनियोजन गरेको बताउनुभयो । अर्थमन्त्री महतले काठमाडौं चक्रपथको कलंकी बसुन्धरा खण्डको सडक बिस्तार तथा निर्माण कार्यलाई तिब्रता दिन २ अर्ब ७ करोड छुट्याएको बताउनुभयो । उहाँले राष्ट्रिय राजमार्गमा आवश्यकतानुसार फ्लाइओभर र अन्डरपास निर्माण गरिने, ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताउनुभयो ।
उहाँले काठमाडौंका थप ४४ स्थानामा स्मार्ट ट्राफिक लाईट जडान गरिने बताउनुभयो । उहाँले सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइने बताउनुभयो । सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्युनिकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्