१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्रीको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ : मन्त्री साउद


117
Shares

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने दाबी गर्नुभएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण यही जेठ १७ (भोलि) बाट जेठ २० गतेसम्म हुँदैछ । प्रधानमन्त्री दाहालको भारत भ्रमणको पूर्व सन्ध्यामा संचारकर्मीसँग कुरा गर्दै उहाँले भारत भ्रमणका क्रममा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनु भयो । उहाँले भ्रमणका क्रममा ब्यापार तथा पारवहन, हवाइ तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकाश, आर्थिक सहयोग लगायतका मुद्दाहरुलाई अगाडि बढाउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भ्रमणमा नेपालमा जलविद्युत उत्पादन बढाउने र उत्पादनमा भारतीय लगानी सुनिश्चित गर्नेकुरालाई मुख्य जोड दिइने बताउनु भयो । उहाँले भारतीय भूमी प्रयोग गरी बंगलादेशमा उर्जा व्यापार गर्नेकुरामा भारतको सहयोग लिने भ्रमणको मुख्य विषय रहेको बताउनु भयो ।

मन्त्री साउदले सरकारले भारतसँग गरेका सम्झौताहरुको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने सम्झौता गरेका कुराहरुको पूर्ण कार्यान्वयन हुने ग्यारेन्टी गर्नुभयो । उहाँले कार्यान्वयनको सुनिश्चित गर्न नसके भ्रमणमा भएका सम्झौताको कुनै अर्थ नरहने भन्दै भारतसँग बढाइएका एजेण्डाहरुको पूर्ण कार्यान्वयन हुने अपेक्षा रहेको बताउनु भयो ।

उहाँले भ्रमणका क्रममा पञ्चेश्वर परियोजना निर्माणदेखि पञ्चेश्वर बहुउद्देश्य आयोजनाको डिपिआरलाई पनि अघि बढाउन प्रश्ताव राख्ने बताउनु भयो ।मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा चलायमान बनाउन भारतसँगका केही असमझदमारीलाई हटाउने बारेमा पनि छलफल हुने बताउनु भयो ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा.प्रकाशशरण महत, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत,भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल जानुहुने भएको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ ।