
बारा । पाँच वर्षदेखि अवैध रुपमा सञ्चालित बाराको सिमरा, जितपुर बजारका दुई अवैध अस्पताल जितपुरसिमरा उपमहानगरले बन्द गराएको छ ।
सिमरा चोकमै सञ्चालित निम्स अस्पताल र जितपुर बजारमा अवस्थित राव नर्सिङ्ग होमलाई जितपुरसिमरा उपामहनगरको टोलीले अस्पताल सञ्चालन अनुमति तथा मापदण्ड निर्देशिका–२०७९ अनुसार सञ्चालन नभएको भन्दै बन्द गराएको हो । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरीलाल पुरी, स्वास्थ्य महाशाखा प्रमुख रवि भास्करसहितको टोलीले अनुगमनको क्रममा निर्देशिका बमोजिम मापदण्ड नदेखेपछि तत्काल दुवै अस्पताल बन्द गराएको हो ।
उपमहानगरका अधिकृत पुरीले मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा दुवै अस्पतालले सामान्य मापदण्डसमेत पालना नगरेकाले दुवै अस्पताल बन्द गराएको बताउनुभयो । सिमरा चोकको दुई सटरभित्र सञ्चालित निम्स अस्पताल विगत ५ वर्षदेखि नविकरण गरेको छैन भने राव नर्सिङ्ग होमले सामान्य अनुमति समेत नलिएको उपमहानगर कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्