
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणमा प्रवुद्ध व्यक्ति समूह (इपीजी) प्रतिवेदन ग्रहण गरी त्यसको कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताउनुभएको छ ।
पार्टीको केन्द्रिय सम्पर्क समन्वय कमिटीले मंगलबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको ‘प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको राष्ट्रिय सरोकार’ विषयक छलफल कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । इपीजी प्रतिवेदन नेपाल-भारत सम्बन्धको नयाँ आधार-पत्र भएको उल्लेख गर्दै उहाँले सो प्रतिवेदनलाई बुझ्ने र कार्यान्वयनमा लैजाने कुरालाई प्रधानमन्त्री दाहालले भारतसँग विशेष जोड दिएर छलफल गर्नुपर्ने बताउनुभयो ।
महासचिव पोखरेलले भारतले सो प्रतिवेदन नबुझेकै कारण दुई मुलुकबीचको समस्या कायमै रहेको तर्क समेत गर्नुभयो । उहाँले भारतलाई नै सो प्रतिवेदन बुझ्न लगाउनु नेपालको राष्ट्रिय हितमा हुनेतर्फ पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनुभयो ।
महासचिव पोखरेलले चुरे क्षेत्रबाट निर्माण सामग्री भारत निर्यात गर्ने काम नगर्न तथा भूकम्पपछि भारतसँग सम्झौंता गरिएका पुनर्निर्माणका कामहरु सम्पन्न गराउने विषयमा पनि भारतसँग प्रधानमन्त्री दाहालले छलफल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै सिमाविद् बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालको भूमि डुबान हुने, ठूलो धनजनको क्षति हुने भएकाले सीमा क्षेत्रमा बाँध नबाध्नका लागि आग्रह गर्नुपर्ने बताउनुभयो ।
भारतले बाँध बाँधेकै कारण नेपालमा ठूलो जनधनको क्षति हुने, डुबान हुने भएकाले त्यसलाई रोक्नका लागि प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग अनौपचारिक भएपनि कुरा राख्नुपर्ने उहाँको भनाई थियो । सिमाविद् श्रेष्ठले नेपालको सिमा समस्याका बारेमा भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री दाहालले कुरा गर्छन भनेर आफूले विश्वास नगरेको पनि बताउनुभयो ।
सिमाविद् श्रेष्ठले भारतको हेपाहा प्रवृत्ति अझै पनि पुरानै शैलीको रहेको र त्यसमा परिवर्तन ल्याउनका लागि नेपालले राष्ट्रिय सहमतीका साथ अघि बढनुपर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्