
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच शिष्टाचार भेट भएको छ ।
बुधवार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा सचिव वाङसहितको १४ सदस्यीय प्रतिनिधि मण्डलले नेकपा माओवादी केन्द्र नेताहरुसँग भेट गरेको हो । भेटका क्रममा दुई पार्टीका बीचमा सम्बन्ध बिस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताउनु भयो । उहाँले छलफलमा दुई सरकारबीचमा सम्बन्ध बिस्तार र दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध स्थापित गर्ने कुरामा छलफल भएको बताउनु भयो ।
भेटमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ लगायतका पार्टीका नेताहरुको उपस्थिति रहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले आजबाट तीन दिने भारत भ्रमण हुनुभन्दा पहिला चिनियाँ कम्युनिष्ट पार्टीको टोलीबीच भएको भेटघाटलाई महत्वपूर्ण रुपमा लिइएको छ । साथै चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले आज बिहाननै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्