
काठमाडौं । भन्सार दर बढेसँगै नेपालमा सुनको मूल्य उच्च दरले बढेको छ ।
बजेट घोषणापछि सुनको मूल्य प्रतितोला ३ हजार ९ सय रुपैयाँ बढेको हो । बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट १५ प्रतिशत पुर्याएकाले नेपालमा मूल्य उच्च दरले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइको छ ।
बुधबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । बजेट घोषणा हुने दिन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सामान्य बढे पनि नेपाली बजारमा दुई दिनमै ३ हजार ९ सय रुपैयाँ बढेको हो । महासंघका अनुसार मंगलबार भन्सार महसुल बढेको अनुमानित आधारमा मूल्य निर्धारण गरिएको थियो । तर, बुधबार भने भन्सार महसुल थप ५ प्रतिशत विन्दु बढेको आधारमा मूल्य निर्धारण गर्दा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ५० डलरमा सुनको कारोबार हुँदा नेपालमा मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ थियो । हाल अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिऔंस घटेर १९ सय ६३ डलर पुग्दा नेपाली बजारमा हालसम्मकै उच्च प्रतितोला १ लाख १२ हजार रुपयाँ पुगेको हो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १ हजार ३ सय ९५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्