२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नागरिकता विधेयक प्रमाणीकरण गर्नु संसदमाथिको नांगो प्रहार : एमाले उपाध्यक्ष नेम्वाङ


234
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदमाथिको नांगो प्रहार भएको बताउनुभएको छ ।

बिहीबार संचारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनु जनताको अधिकारमाथि र संसदमाथि नांगो प्रहार भएको बताउनुभएको हो । उहाँले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान, कानून, स्थापित अभ्यास र संसदीय परिपाटीले नचिनेको बाटो हिँड्ने काम भएको टिप्पणी गर्नुभयो । उहाँले संसदलाई छेउ पार्ने काम गरिएको भन्दै यस्तो गर्नु गलत भएको बताउनु भयो ।

उपाध्यक्ष नेम्वाङले अघिल्लो प्रतिनिधि सभाको कार्यकालमै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रमाणीकरणका लागि पेस हुँदासमेत १५ दिनभित्र प्रमाणीकरण नगरेको उल्लेख गर्दै विधेयक उतिबेलै निस्क्रिय भएको बताउनु भयो । निस्क्रिय भएको विधेयकलाई मन्त्रिपरिषद्ले प्रमाणिकरणका लागि सिफारिस गर्न नमिल्ने उहाँको तर्क छ । त्यस्तै नयाँ प्रतिनिधि सभा समेत आइसकेको अवस्थामा संसदबाट सभामुख र राष्ट्रिय सभा अध्यक्षले सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्थाको समेत उल्लंघन भएको उहाँले बताउनु भयो ।

उहाँले नागरिकता प्रमाणिकरणको विषयलाई लिएर एमाले जनताको जाने पनि बताउनु भयो । यो विषय संसदमा पनि उठाउने बताउनु भयो । नेम्वाङले यो विषयले अदालतमा प्रवेश पाउनसक्ने संकेत समेत गर्नुभयो ।

उपाध्यक्ष नेम्वाङले देशमाथि सबैतिरबाट प्रहारहरु भइराखेको उल्लेख गर्दै यस्तो अवस्थामा सबै राजनीतिक दलहरुको बिचमा राष्ट्रिय विषयहरुमा एकताको आवश्यकता रहेको बताउनु भयो ।