
काठमाडौं । ए डिभिजन फुटबल क्लबहरुले आफ्ना खेलाडीलाई लिग नसकिएसम्म राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा नपठाउने निर्णय गरेका छन् ।
बिहीबार फ्रेण्ड्स क्लबको कार्यालयमा बसेको क्लबहरुको बैठकले आसन्न साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीलाई लिग जारी रहुन्जेल नपठाउने निर्णय गरेका हुन् ।
असार ६ देखि भारतको बैंग्लोरमा साफ च्याम्पियनसिप आयोजना हुँदैछ । त्यसका लागि राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले ३० खेलाडीको प्रारम्भिक टिम घोषणा गरेपनि प्रशिक्षण सुरु हुन सकेको छैन् । १९ फागुनदेखि सुरु भएको शहीद स्मारक ए डिभिजन लिगमा तीन चरणको खेल बाँकी छ । २७ जेठमा लिग सकिएपछि मात्र क्लबले खेलाडी रिलिज गर्ने क्लबहरुको भनाई छ ।
एन्फाले पूर्वसहमति कार्यान्वयन नगरेका कारण विरोधस्वरुप लिगका बाँकी खेलहरुमा खेलाडी र अफिसियलले कालो पट्टी बाँधेर सहभागी हुने निर्णय क्लबहरुको बैठकले गरेको छ ।
बैठकमा जावलाखेल युथ क्लब र तीन विभागीय टिमहरु (आर्मी, एपीएफ र नेपाल पुलिस) का प्रतिनिधि भने सहभागी थिएनन् ।
प्रतिक्रिया दिनुहोस्