
काठमाडौं । ए डिभिजन क्लबहरुको विरोधपछि नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक विज्ञप्ति निकाल्दै राष्ट्रिय टिमको बन्द प्रशिक्षण स्थगित गरिएको जनाएको हो ।
भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप र त्यसअघि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलका लागि हिजोबाट राष्ट्रिय टिमको प्रशिक्षण थालिएको थियो । तर, ‘ए’ डिभिजन लिग खेलिरहेका १० क्लबले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पठाउने निर्णय गरेपछि एन्फा प्रशिक्षण स्थगित गर्न बाध्य भएको हो ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए । नेपालले यही असार ६ देखि १८ गतेसम्म भारतको बैंग्लोरमा साफ च्याम्पियनसिप खेल्दैछ । यसको तयारीका लागि जेठ ३२ गते फिलिपिन्ससँग मैत्रीपूर्ण खेल हुँदैछ ।
साफ च्याम्पियनसिपको समूह ‘ए’ मा नेपाल, भारत, कुवेत र पाकिस्तान रहेका छन् भने समुह बी मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्