१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


‘नागरिकता विधेयक प्रमाणीकरण संसदको अपमान’


195
Shares

काठमाडौं । नेकपा एमालेले पुरानै संसदले पठाएको नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति संसदको अपमान भएको जनाएको छ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले संघीय संसदको निर्णय र संसद्का सभामुख वा अध्यक्षको सिफारिसमा मात्रै कानुन बन्ने व्यवस्था रहेकाले पुरानो संसदले सिफारिस गरेको विधेयक प्रमाणीकरण गर्नुले वर्तमान संसद्को अपमान गरेको जनाएको हो।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मन्त्रिपरिषदको सिफारिसमा प्रमाणीकरण गरिएको भन्ने राष्ट्रपति कार्यालयको वक्तव्य संविधान, प्रचलित कानुन र संसदीय मान्यताविपरीत भएकाले वर्तमान संसदको अपमान भएको एमालेको ठहर रहेको बताए।

उनले नयाँ प्रतिनिधिसभा आइसकेपछि पुरानै संसदले पठाएको विधेयक प्रमाणीकरण गर्नु संसदको अपमान भएको र संविधानविरोधी भएको पनि बताए। उनले संसदलाई छलेर विधेयक प्रमाणीकरण गरेकोमा एमालेको आपत्ति रहेको समेत बताए।

शुक्रबार बसेको बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजन गर्ने जिम्मेवारी दिएको छ। पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले उपाध्यक्षहरूलाई विभागहरूको संयोजन गर्ने जिम्मेवारी दिएको हो। सचिवालय बैठकले ६ उपाध्यक्षलाई विभागहरूको संयोजन गर्ने जिम्मेवारी दिँदै कार्यविभाजन गरेको हो।

योजना तथा नीति विभागमा ईश्वर पोखरेल, पूर्वाधारमा सुरेन्द्र पाण्डे, कृषि तथा उद्यम विभागमा रामबहादुर थापा, सामाजिक विकासमा अष्टलक्ष्मी शाक्य, मानव स्रोतमा युवराज ज्ञवाली, सुशासनमा सुवास नेम्वाङ र संगठन तथा प्रशिक्षण विभागको संयोजकमा विष्णु पौडेल तोकिएका छन्।

यस्तै सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।