१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने गृहमन्त्री श्रेष्ठको दाबी


65
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा गरी दोषीमाथि कारबाही हुने बताउनुभयो । उहाँले आफू राम्रो काम गरे भनेर विश्राम गरेर नबस्ने बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको बाधकका रुपमा जुनसुकै पार्टीको नेता पनि भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न पछि नहट्ने बताउनुभयो ।

उहाँले आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र) का नेताहरु पनि भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने कारबाही गर्न पछि नहट्ने र त्यो बेला आश्चर्यमा पर्न आवश्यक नरहेको बताउनुभयो । उहँले कसैले बढुवा, सरुवाको निम्ति अनियमितता गरेर रकम दिने र लिनेलाई नै जेल हाल्ने बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले आफू सयौँ पटक चुनाव हार्न तयार रहेको तर, निष्पक्षता र संवैधानिक मूल्य मान्यता बिर्सिन नसक्ने बताउनुभयो ।