
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तविरुद्ध जिल्ला अदालत काठमाडौंमा आइतबारबाट थुनछेक बहस सुरु हुँदैछ ।
पक्राउ परेका १८ जनाहरुको बयान शुक्रबार सकिएपछि आइतबारबाट थुनछेकको बहस सुरु हुन लागेको हो ।
सबै अभियुक्तले अदालतमा इन्कारी बयान दिएका छन् । यो प्रकरणमा पक्राउ परेका ‘हाइप्रोफाइल’ अभियुक्तको पक्षबाट पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एसोसिएसनका अध्यक्षसम्म बहसमा उत्रिदैछन् ।
पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षमा बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले गर्दैछन् । खाँण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए । उनको पक्षमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र पूर्वअध्यक्ष शेरबहादुर केसी पनि बहसमा उत्रिँदैछन् ।
यसैगरि पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझीको पक्षबाट बहसको नेतृत्व वरिष्ठ अधिवक्ता सुशील पन्तले गर्दै छन् । टोलीमा पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, धर्मराज रेग्मी, पर्शुराम कोइराला, आकृति रायमाझीलगायत आठ अधिवक्ता छन् ।
सचिव टेकनारायण पाण्डेको पक्षबाट बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले गर्दैछन् । टोलीमा गणेश रेग्मी, राम घिमिरेलगायतका अधिवक्ता सहभागी छन् । रेग्मी नेपाल प्रहरीका पूर्वएसएसपी हुन् । सरकारी वकिलको कार्यलयबाट बहसको नेतृत्वका सहन्यायाधिवक्त अच्युतमणि न्यौपानेले गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस्