२२ फाल्गुन २०८१, बिहिबार | Fri Mar 7 2025


वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउँछौं : श्रममन्त्री भण्डारी


91
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउने बताउनुभएको छ ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीका लागि नेपालीहरु जाने गन्तव्यस्थललाई सुरक्षित र मर्यादित बनाउने दायित्व सरकारले निर्वाह गर्ने बताउनुभएको हो ।

उहाँले सरकारसँग पनि वैदेशिक रोजगारमा गएका मानिसहरुको र फर्किएका मानिसको पनि यकिन डाटा राख्न विभागहरुलाई निर्देशन दिनुभयो । मन्त्री भण्डारीले अवैधानिक रुपमा नेपालबाट विदेश गएकाहरुलाई मान्यता दिने सरकारको तयारी रहेको बताउनुभयो ।

उहाँले नेपालबाट विभिन्न देशमा अवैधानिक रुपमा पर्यटक भिसा लगायत अन्य जुनसुकै भिसामा गएर काम गरिरहेकाहरुलाई मान्यता दिएर नागरिकको साथमा सरकार छ भन्ने महशुस गराउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले यो विषयमा सरकारल एउटा अभियान सञ्चालन गर्ने बताउनुभयो । उहाँले नेपालीहरु अवैधानिक रुपमा गएका देशमा पनि कानूनी प्रावाधानका विषयमा छलफल गर्ने तयारी रहेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारको लागि विभिन्न मुलुकको ऐन र कानूनलाई ध्यानमा राखेर मात्रै सरकारले श्रम सम्झौता गर्ने बताउनु भयो।

मन्त्री भण्डारीले सरकारले विदेशबाट फर्किएकाहरुसँग विदेशमा सिकेर आएको सीप र पुँजीलाई मुलुक निर्माणमा लगाउन सक्नुपर्ने बताउनुभयो । उहाँले सरकारको मुख्य उद्देश्य श्रम बजारसम्म श्रमिकको सरल पहुँच र श्रम बजारमा आवश्यकता अनुसारको श्रमिकलाई तयार गर्नु रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले मन्त्रालय अन्तरगतका विभागहरुले वैदेशिक रोजगारीका विषयमा इमान्दारिका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा जाने नेपालीहरु बिना कुनै जानकारी विना वैदेशिक रोजगारीमा जाने गरेको भन्दै वैदेशिक रोजगारीमा जानुपूर्व श्रमिकले पाउनुपर्ने जानकारी पाउनुपर्ने बताउनुभयो । उहाँले विभागहरुले वैदेशिक रोजगारी क्षेत्रमा समस्या भए भनेर प्रहरी प्रशासन सहयोगले मात्रै समस्या समाधान नहुने बताउनु भयो। उहाँले नीतिगत हिसावमा इमान्दार र नयाँ टेक्नोलोजीको प्रयोग गरेर काम गर्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले सरकारले विभिन्न विभागहरु खोरज गर्ने भन्दा पनि व्यवस्थित बनाउन खोजेको बताउनुभयो । उहाँले स्थानीय तहलाई बलियो बनाएर रोजगार सेवा केन्द्रबाट सबैखालका समस्या समाधान गर्न खोजिएको बताउनुभयो ।