१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रधानमन्त्री दाहालको प्रष्टिकरण : भारतसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव गरिएको छैन्


559
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव भारतीय पक्षसँग नराखेको बताउनु भएको छ ।

एमालेसहितका विपक्ष दलहरुले सो भूमि साट्न सकिने अभिव्यक्ति दिएको भन्दै संसद बैठक अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री दाहालको यस्तो स्पष्टिकरण आएको हो । उहाँले पहिलो पटक आफूले सो भूमि नेपालको हो भनेर स्थापित गराउन पहलकदमी लिएको दावी समेत गर्नु भयो ।

सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो भारतको चार दिने औंपचारिक भ्रमणबारे जानकारी गराउने क्रममा प्रधानमन्त्री दाहालले आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कालापानी, लिपुलेक, लिम्पियाधुरासहित सीमा समस्या समाधान गर्नैपर्ने कुरा प्रष्टसँग राखेको र त्यो समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीले पनि पहिलो पटक संयुक्त प्रेसमिटमा स्पष्टसँग राखेको बताउनु भयो । उहाँले आफूले सिधा र प्रष्ट ढंगले राखेको सो कुरालाई जनतामा भ्रम फैल्याउने गरी प्रचार गरेकोमा आफूलाई पीडाबोध भएको पनि बताउनु भयो ।

प्रधानमन्त्री दाहालले आफूले राष्ट्रिय हितको प्रवद्र्धनका लागि भारतसँग गरेको कुरालाई राम्रो भन्न सक्ने आँट गर्न पनि विपक्ष दलहरुलाई पटकपटक आग्रह गर्नु भयो । प्रधानमन्त्री दाहालले एमाले निकट केही बुद्धिजीविहरुले नै बरु सीमा समस्या समाधानका लागि बंगलादेश मोडल उपयुक्त हुने भनेर प्रस्ताव गरेको कुरालाई आफूले स्मरण गराउने काम मात्रै गरेको जिकीर समेत गर्नु भयो । उहाँले आफ्नो भारत भ्रमणमा भएको उपलब्धिलाई केही होइन भन्ने ढंगले हल्ला गरियो भने प्राप्त हुने उपलब्धि पनि गुम्नेतर्फ विपक्ष दलहरुलाई सचेत गराउनु भयो ।