
काठमाडौं । प्रतिनिधि सभा बैठकमा ‘प्रधानमन्त्री भारतबाट फर्किदा भैँसी चढेर आएको’ भन्ने कुराले प्रवेश पाएपछि बैठक केहीबेर अवरोध हुन पुगेको थियो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण र नागरिकता प्रमाणिकरणको सम्बन्धमा आफ्नो मन्तव्य राखेसँगै सांसदहरुलाई प्रश्न सोध्न दिइएको थियो । सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री दाहाल भारत भ्रमणबाट भैँसी चढेर आउनुभएको भन्ने कुरा राख्नुभएको थियो ।
लगत्तै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसदहरुले नियमापत्ति जनाउँदै उठेका थिए । सभामुखले माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई आफ्नो कुरा राख्न समय दिएसँगै उहाँले संसदमा अमर्यादित शब्द प्रयोग भएको उल्लेख गर्दै सो शब्द संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो ।
यता, हीतराज पाण्डे लगायतका माओवादी केन्द्रका सांसदहरु उठेसँगसँगै विपक्षी दल एमाले, रास्वपा लगायतका सांसदहरु पनि उठिसकेका थिए । उनीहरुको कुरा थियो सांसद खनाल बोल्दाबोल्दै सत्तारुढ दलका सांसदहरुले बोल्न नदिएर नियम मिचेको । सभामुखले एमाले सांसद सूर्यबहादुर थापालाई बोल्न समय दिनुभयो । थापाले सत्तारुढ दलका सांसदहरुले दादागिरी देखाएर प्रतिपक्षका सांसदलाई बोल्न नदिएको र प्रतिनिधि सभा नियमावलीको नियम मिचेको बताउनु भयो ।
त्यसपछि सभामुखले प्रश्न सोध्ने सांसदहरुलाई मर्यादामा रहेर प्रश्न गर्न र कोही सदस्य बोल्दै गर्दा अर्को सदस्यले प्रतिवाद नगर्न अनुरोध गर्दै प्रतिनिधि सभा नियमावली नियम २०(झ) प्रति सांसदहरुलाई आकर्षित गर्नुभयो । सभामुखको आग्रहपछि पनि सत्तापक्ष र प्रतिपक्षका सांसदहरु नबसेपछि सभामुखले प्रधानमन्त्री भैँसी चढेर आएको भन्ने शब्द संससदको रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिनुभयो ।
यसपछि प्रतिपक्षी दलहरुको बिरोध झनै चर्को भयो । एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री स्वयंले संसदको रोष्टमबाट भैसी चढेर प्रशंग निकालेको भन्दै प्रधानमन्त्रीको शब्द पनि रेकर्डबाट हटाउन माग गर्नुभयो । रास्वपा सभापति तथा सांसद रवि लामिछानेले पनि प्रधानमन्त्रीले बोलेको शब्द पनि हटाउन माग गर्नुभयो । बैठक अवरोध जारी रह्यो ।
त्यसपछि सभामुखले भैँसी चढेर आएको भन्ने शब्द जसले बोलेको भएपनि रेकर्डबाट हटाउन निर्देशन गरेको कुरा बैठकलाई जानकारी गराउनु भयो । प्रधानमन्त्रीको नाम भने लिनुभएन । प्रतिपक्षीहरु प्रधानमन्त्रीको नामै लिएर शब्द हटाउन निर्देशन दिनुपर्ने मागमा थिए । बैठक अवरोध जारी रह्यो ।
लगत्तै सभामुखले प्रधानमन्त्री भारत भ्रमणबाट आउँदा भैसी चढेर आएको भन्ने शब्द संसद रेकर्डमा रहनु उपयुक्त नभएको पुनः ध्यानाकर्षण गराउनु भयो । यसर्थ आफूले हटाउन रुलिङ गरिसकेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीले बोलेको र सांसदले बोलेको कुरालाई एकै ठाउँमा गाँसेर हेर्न नमिल्ने बताउनु भयो । र बैठक सञ्चालन गर्न आग्रह गर्नुभयो ।
यससँगै सबै सांसदहरु आ–आफ्नो सिटमा बसे । प्रधानमन्त्रीलाई प्रश्न सोध्ने कार्यसूचिले निरन्तरता पायो । यसअघि बोल्दाबोल्दै रोकिन पुगेका रास्वपा सांसद शिशिर खनालले आफ्नो प्रश्नलाई पूर्णता दिन पाउनुभयो र सांसदहरुको प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रम क्रमशः अगाडी बढ्यो ।
प्रतिक्रिया दिनुहोस्