
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कसैलाई फाइदा र बेफाइदा पुग्ने गरी करका दर परिवर्तन नगरेको बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि त्यसको जवाफ दिँदै उहाँले यस्तो बताउनुभयो । उहाँले कसैले फाइदा उठाइरहेको ठाउँमा फाइदा उठाउन नपाएर रिसाएर यस्तो प्रचार गरेको हुनसक्ने बताउनुभयो ।
अर्थमन्त्री महतले आफूले समग्र अर्थतन्त्रलाई केन्द्रबिन्दुमा राखेर कसैलाई फाइदा र बेफाइदा पुग्नेगरी काम नगरेको स्पष्ट पार्नुभयो। उहाँले इमान्दार भएर काम गर्दा हिलो छाप्ने काम भएको बताउनुभयो । उहाँले कसैले नियोजित रुपमा समाचारहरु लेखिरहेको भन्दै इमान्दारको काम नभएको बताउनु भयो। उहाँले बजेटमा उद्योग व्यवसायलाई राम्रो हुने काम मात्रै गरेको बताउनुभयो ।
अर्थमन्त्री महतले समग्र अर्थतन्त्र र उद्योग व्यवसाय राम्रो बनाउने गरी इमान्दार भएर काम गर्दा पनि हिलो छाप्ने काम भएको भन्दै असन्तुष्टि जनाउनुभयो । राम्रो काम गर्दापनि आक्षेप आइलाग्ने हो भने नेपालमा इमान्दार मान्छेहरुको काम छैन भनेर घोषणा गरिदिए हुने बताउनुभयो ।
अर्थमन्त्री महतले एकाध मानिसहरुको फाइदाको लागि अर्थमन्त्री र राज्य संयन्त्रले काम गर्न नमिल्ने बताउनुभयो । उहाँले करका दर हेरफेर गर्दा अर्थसचिव, राजस्व सचिव, आन्तरिक राजश्व विभाग प्रमुख, भन्सार प्रमुख र उपसचिव मात्रै बसेर निर्माण गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्