१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोशी प्रदेशमा माओवादीले समर्थन फिर्ता लिए कार्की सरकार ढल्ने


2.808k
Shares

काठमाडौं । नेकपा माओवादीले समर्थन फिर्ता लिए कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढल्ने भएको छ ।

गत पुस २४ मा एमाले, नेकपा माओवादी,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी(जसपा) को गरी ५९ सांसदको समर्थनमा एमालेका हिकमत कार्की मुख्यमन्त्री बन्नु भएको थियो । केन्द्रीय सरकारमा अहिले कांग्रेस,माओवादी,नेकपा एकीकृत समाजवादी र जसपाको समीकरणको सरकार छ ।

प्रदेशमा पनि केन्द्रकै समीकरण बमोजिम सरकार निर्माणका लागि दलहरुबीच सहमती भएपछि माओवादीले कार्कीलाई दिएको समर्थक फिर्ता लिन लागेको हो । त्यसका लागि माओवादीको प्रदेश पार्टी पदाधिकारीको आज बस्ने बैठकले समर्थन फिर्ताको निर्णय गर्ने एक माओवादी नेताले जानकारी दिए । जसपाले भने जेठ १६ गते नै कार्कीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

माओवादीको १३ (सभामुखसहित) र जसपाको १ सांसदले समर्थन फिर्ता लिनेबित्तिकै मुख्य मन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । सरकार बनाउनका लागि ४७ जना सांसद चाहिन्छ । प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीको १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद छन् । केन्द्रको सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा मिल्दा बहुमत सङ्ख्या ४७ सांसद पुग्छन् ।