४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


काठमाडौं महानगरले भन्यो – ओम नर्सिङ होम र हेल्पिङ हेम अस्पतालले लक्षित वर्गलाई निःशुल्क उपचार गरेन


2.717k
Shares

काठमाडौं । काठमाडौंका ओम नर्सिङ होम र हेल्पिङ हेम अस्पतालले स्वास्थ्य सम्बन्धी ऐन र मापदण्डअनुसार १० प्रतिशत लक्षित समुदायले पाउनुपर्ने सेवा नदिएको पाइएको छ ।

मंगलबार काठमाडौं महानगरपालिकाको टोलीले महानगरपालिका भित्रका दुई अस्पतालमा गरेको निरीक्षणका क्रममा अस्पतालले स्वास्थ्यसम्बन्धी ऐन अनुसार सेवा नदिएको पाइएको हो ।

निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले ओम नर्सिङ होम र हेल्पिङ हेम अस्पतालले स्वास्थ्य सम्बन्धी मापदण्डअनुसार काम नभएको पाइएको र निरीक्षणपछि मापदण्डअनुसार सेवा प्रवाह गर्न निर्देशन दिइएको बताउनुभयो ।

निर्देशनात्मक पत्र भने महानगरपालिकाबाट बुधवार पठाइने बताउनुभयो । उहाँले अस्पतालले महानगरको निर्देशनपछि अब स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार लक्षित समुदायलाई १० प्रतिशत छुट दिने आशा रहेको बताउनुभयो ।

महानगरपालिकाका मेयर बालेन्द्र साहले यसअघि १० प्रतिशत लक्षित समुदायलाई स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार उपचार प्रदान गर्नका लागि कार्यान्वयनको माग गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । महानगरपालिकाले निरीक्षणपछि पनि अस्पतालले अटेर गरी तोकिएबमोजिम सेवाप्रवाह नगरे कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।