
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चर्चामा आउनका लागि नभइ दिगो र कार्यान्वयन गर्नेगरी सडक अनुगमन गरिरहेको बताउनुभएको छ ।
मंगलबार भौतिक तथा पूर्वाधारमन्त्री ज्वालाले चक्रपथको दोस्रो खण्डका रूपमा कलंकीदेखि बसुन्धरासम्मको सडकको स्थलगत निरीक्षण गर्ने क्रममा यस्तो बताउनुभएको हो ।
उहाँले कंलकीदेखि बसुन्धरासम्मको सडक निर्माणमा देखिएका समस्या स्थलगत निरीक्षणबाट समाधान खोज्नको लागि चीनियाँ राजदुत, आयोजना प्रमुखसहित अनुगमन गरिएको बताउनुभयो ।
मन्त्री ज्वालाले कलंकीदेखि महाराजगञ्जसम्मको ८.२ किमि सडक खण्ड बिस्तार गर्न कुनै पनि समस्या नदेखिएको बताउनुभयो । उहाँले सडक निर्माण गर्न सडकको दुवैतर्फ कुनैपनि समस्या नदेखिएकाले चाँडै डिपिआर तयार गरेर ठेक्का प्रक्रियामा जाने बताउनुभयो ।
मन्त्री ज्वालाले कंलकीदेखि बसुन्धारासम्मको रिङ रोड सडक खण्डको दोस्रो चरणको निर्माण चीन सरकारको अनुदानमा बन्न लागेको बताउनुभयो । उहाँले उक्त खण्डमा ढुङगेधारा, गोगबु र बसुन्धारामा अण्डरग्राउण्ड पास आवश्यकता देखिएकाले चीन सरकारसँग सहमति गरेर तीन ठाउँमा अण्डरपास बनाउने सहमति समेत भएको बताउनु भयो । मन्त्री ज्वालाले कंलकीदेखि बसुन्धरासम्म ८ लेनको फराकिलो सडक निर्माण अब तत्काल अगाडि बढ्ने आशा जगाएको बताउनुभयो ।
मन्त्री ज्वालाले मन्त्री भएर आएपछि अनुगमन गरिसका सडक निमाण प्रक्रिया ढिला भएका आयोजनाहरुको कामको प्रगति तिब्र रुपमा बढेको बताउनुभयो । उहाँले राजधानी जोड्ने सडकहरु वर्षा याममा बन्द नहुने गरी सरकारले पूर्वतयारी गरिरहेको बताउनुभयो ।
सडक अनुगमनमा नेपालका लागि चिनियाँ राजदुतमा छन् सोङ, भौतिक मन्त्रालयका सचिव केशव शर्मा, आयोजना प्रमुख लगायतको सहभागिता रहेको थियो । यसअघि कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्म सडक बिस्तार गरेको चिनियाँ पक्षले दोस्रो चरणअन्तर्गत कलंकीदेखि बसुन्धरासम्म सडक बिस्तारका लागि तयारी थालेको हो । तयारीसँगै सडक वरपर मिचेर बनाइएका संरचना हटाउनाका साथै निर्माणस्थलसमेत खालि गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्