१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो


2.925k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा आरोपितहरू विरुद्धको मुद्दामा जाहेरीवाला र सरकारी वकिलको तर्फबाट थुनछेक बहस सकिएको छ ।

जिल्ला अदालत काठमाडौंमा आइतबारदेखि चलेको थुकछेक बहसको क्रममा मंगलबार जाहेरीवाला र सरकारी वकिलको तर्फबाट बहस गरिएको थियो भने बुधबारदेखि प्रतिवादीको तर्फबाट बहस चल्नेछ ।

जाहेरीवालाहरूको तर्फबाट बहस गर्ने क्रममा अधिवक्ता हरिप्रसाद कट्टेलले आरोपीले नाम लिएकाहरूको पनि बयान लिन अदालतमा झिकाउन माग गर्नुभयो । उहाँले जिल्ला अदालत काठमाडौंमै विचाराधीन उमेश रेग्मीविरुद्ध सौगात सुनुवारको जाहेरीले नेपाल सरकार वादी भएको मुद्दाको उदाहरण दिँदै आरोपितले बयानमा नाम लिएकाहरूलाई पनि अदालतमा झिकाउन माग गर्नुभएको थियो ।

जाहेरीवालाको तर्फबाट बहस गर्नेहरूले जाहेरीकर्ताले बयानमा पोलेका भरमा कोही मुद्दा चलेर थुनामा बस्नुपर्ने, कोहीले उन्मुक्ति पाउने स्थिति आउन दिन नहुने जिकिर गरेका थिए । प्रतिवादीहरू सानु भण्डारी, केशवप्रसाद दुलाल, टेकनाथ रिजालले पोलेका व्यक्तिहरूले उन्मुक्ति पाउन नहुने उनीहरूको जिकिर रहेको थियो ।

अधिवक्ता कट्टेलले नक्कली शरणार्थी प्रकरणमा आरोपितले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वसल्लाहकार डा.अजयक्रान्ति शाक्य, तत्कालीन स्वकीय सचिव राजेश बज्राचार्यको पनि नाम लिएको बताउनुभयो । त्यसै गरी तत्कालीन गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा, बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण, वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री ओलीलाई समेत पोलेको भन्दै अधिवक्ता कट्टेलले उहाँहरूको समेत बयान लिनुपर्ने माग गर्नुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।