१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


अख्तियारद्वारा मुगुको छायाँनाथ रारा नगरपालिकाका पूर्व प्रमुखसहित नौ जना विरुद्ध मुद्दा दर्ता


351
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

मुद्दा दायर गरिएकाहरुमा मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन नगर प्रमुख हरिजङ्ग शाही, तत्कालीन नगर उप–प्रमुख सुन्तला रोकाया, प्रमुख प्रशासकीय अधिकृत, इञ्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ९ जना रहेका छन् ।

छायाँनाथ रारा नगरपालिका वडा नं ७ को बिसौनीदेखि किउरीसम्मको बाटो निर्माण गर्दा आर्थिक घोटाला गरेको आरोपमा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, इञ्जिनियर महेश सिंह कठायत र असिष्टेण्ट सब–इञ्जिनियर हस्त बहादुर मल्लले गैरकानूनी लाभ प्राप्त गर्ने बदनियतले गलत नापी किताब, उपभोक्ताको बिल र नभएको कामको कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी २२ लाख ३६ हजार भ्रष्टाचार गरेको पुष्टि भएको दाबी आयोगले गरेको छ ।

आयोगले उनीहरुबाट भ्रष्टाचार भएको रकम, सोही बराबरको विगो र जरिवानाका साथै कैद सजाय माग गरेको छ । यस्तै, सुनसरी जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारीसमेत ४ जना र आरके कन्स्ट्रक्सन विरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

जिल्ला समन्वय समिति सुनसरीले कृषि तथा बनकस जडिबुटिको निकासी कर संकलनको ठेक्का लगाउँदा सम्झौतासमेत नगरी आरके कन्स्ट्रक्सनलाई कर संकलन गर्न दिएर आर्थिक अनियमितता गरेको आरोपमा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो ।