१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


सभामुखले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेको सांसद दाहालको आरोप


468
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दाहालले केही दिन अघिको बैठकमा प्रधानमन्त्रीलाई रोष्टममा उभ्याएर अन्य सदस्यहरुलाई बोल्न समय दिएको उल्लेख गर्दै सभामुखले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेको बताउनुभएको हो । उहाँले साभामुखले प्रधानमन्त्रीले बोलिसकेपछि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई बोलाएर फेरि टिकाटिप्पणी गर्ने अधिकार दिएको भन्दै आलोचना गर्नुभयो । उहाँले प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर बैठक सञ्चालन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मैले भन्नैपर्छ, अस्ति रोष्टमममा उभिएर प्रधानमन्त्रीले जवाफ दिँदैजाँदा यहाँहरुको माग बमोजिम, अघिल्लो दिन यहाँहरुले अवरोध गर्नुभयो । अघिल्लो दिन सदन अवरोध गर्नुभयो । यहाँहरुको माग थियो प्रधानमन्त्री सदनमा आउनुपर्छ । र उहाँले जवाफ दिनुपर्छ । तपाइहरुले प्रश्न गर्नुभयो । प्रधानमन्त्री जवाफ दिन रोष्टममा उभिँदाखेरी उहाँले जवाफ दिन पाउनुभएन । तपाईहरुले प्रधानन्त्रीको हुर्मत लिनुभयो । हेप्नुभयो । सदन चलाउँदा सदनमा हामी स्वतन्त्र छैनौँ । हामी हरेक सांसदहरु स्वतन्त्र छैनौँ । सभामुख पनि स्वतन्त्र हुनुहुन्न । संविधानको मातहतमा र प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर मात्र हामीले आफ्ना अभिव्यक्ति राख्न पाइन्छ । हामी संविधानको मातहतमा रहेर, प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर आफ्ना अभिव्यक्ति राख्नुपर्नेमा सभामुख आफैँले पनि प्रतिनिधि सभा नियमावलीको उल्लंघन गर्नुभएको छ । रोष्टममा तपाईले प्रधानमन्त्रीलाई रुलिङ गर्ने कि, माननीय सांसदहरुलाई रुलिङ गर्ने ? प्रधानमन्त्रीले बोलिसकेपछि प्रमुख प्रतिपक्ष दलका आदरणीय नेता केपी शर्मा ओलीलाई बोलाएर फेरि टिकाटिप्पणी गर्ने अधिकार सभामुखले दिनुभएको छ । त्यसकारणले प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर सदन सञ्चालन गर्न निवेदन गर्दछु ।’

सांसद दाहाललले देशमा एकाएक वर्तमान सरकार आएपछि मात्रै बेथिति नआएको बताउनु भयो । उहाँले बेथिति र समस्याहरुको चाङमा विगतमा सरकारको नेतृत्व गरेको प्रतिपक्ष दल एमालेको पनि सहभागिता रहेको उल्लेख गर्नुभयो ।उहाँले देशमा भएका समस्याहरुको सबै मिलेर स्वामित्व लिनुपर्ने र मिलेर नै बेथिति, अराजकता र अनुशासनहिनताको अन्त्य गर्नुपर्ने बताउनु भयो ।