२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

सफा हिमाल अभियान सम्पन्न


65
Shares

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियान २०२३ को चौथो संस्करणले उल्लेखनीय सफलता हासिल गरेको दाबी गरिएको छ ।

विश्व वातावरण दिवसको अवसरमा पारेर राजधानीमा एक कार्यक्रम आयोजना गरेर उक्त अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिइएको हो ।

कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा लगायत अभियानमा संलग्नअन्य साझेदार निकायहरु र सरकारी अधिकारीहरू तथा मुख्य सरोकारवालाहरू सहभागी थिए ।

अभियानका निर्देशक ब्रिगेडियर जनरल सुन्दरकुमार पाण्डेले प्रतिकूल मौसम र अत्यधिक उचाइका कारण चुनौतिपूर्ण र जोखिमपूर्ण यात्राकाबीच हिमालहरु सफा राख्ने यो अभियान सफलतापुर्वक सम्पन्न हुनुलाई गर्वको रुपमा लिनुपर्ने बताउनुभयो ।

उहाँले यो अभियानको सुरुवातदेखि नै निरन्तर सहयोग प्रदान गरेकोमा कोका–कोला फाउन्डेसनलाई विशेष धन्यवाद दिनुभयो । कोका–कोला फाउन्डेसनका अध्यक्ष सादिया माड्सब्जर्गले सफा हिमाल अभियानसँगको साझेदारीलाई जोड दिँदै कोका–कोला फाउन्डेसनको सफा हिमाल अभियानसँगको सहकार्यले वातावरणलाई फोहोर–मुक्त बनाउने हाम्रो दृढ प्रतिवद्धतालाई थप सार्थक बनाएको बताउनुभयो ।

यस्ता अभियानले जलवायु परिवर्तन विरुद्ध पहलगर्न नेपाल र विश्वभर नै प्रेरित गर्ने आशा गरिएको पनि उहाँले उल्लेख गर्नुभयो ।