२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कोशी प्रदेशका उपसभामुख दनुवार र एमाले संसदीय दलका उपनेता रानामाथि दुर्व्यवहार


156
Shares

काठमाडौं । कोशी नामकरणको विरोधमा आन्दोलनरत पक्षले कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार र नेकपा एमाले संसदीय दलका उपनेता राम रानामाथि दुर्व्यवहार गरेका छन् ।

उपसभामुख दनुवारमाथि उदयपुरमा र रानामाथि इलाममा दुर्व्यवहार भएको हो । इलामबाट झापा फर्कने क्रममा बिहीबार आफूमाथि इलाम नगरपालिका-११ सोयाकमा बिहान साढे ११ बजे दुर्व्यवहार भएको एमाले नेता रानाले बताउनुभयो । उहाँले आफू सवार गाडीमा कालो मोबिल पोखिएको जानकारी दिनुभयो ।

पहिचान पक्षधरका कार्यकर्ताले उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारमाथि पनि दुर्व्यवहार गरेका छन् । उहाँ चढेको गाडी रोकेर दुर्व्यवहार गर्न खोजेपछि चालकले गाडी अगाडि बढाएका थिए । त्यस क्रममा पहिचान पक्षधर कार्यकर्ताले नाराबाजी गरेका थिए ।

फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा नामकरण हुनुपर्ने पक्षमा रहेका विभिन्न राजनीतिक दल र जातीय संगठन आन्दोलनमा रहेका छन् ।

आन्दोलनरत पक्षधरसँग वार्ताका लागि प्रदेश सरकारले बुधबार मन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।