७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गर्दै अत्तरिया बजार बन्द


78
Shares

काठमाडौं । कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै गोदावरी नगरपालिकाको अत्तरिया बजार बन्द गराइएको छ ।

विश्वविद्यालय स्थापनाका लागि बनेको संघर्ष समितिले अत्तरिया बजार बन्द गराएको हो । संघर्ष समितिले सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरेअनुसार गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गर्दै आएको छ । संघर्ष समितिले सरकारविरुद्ध प्रदर्शन समेत गरेको संघर्ष समितिका सचिव धर्मसिंह कुुँवरले जानकारी दिनुभयो । अत्तरिया बजारमा बिहान बजार खुुला रहेपनि बन्दकर्ताले ८ बजेपछि बजार बन्द गराएका थिए । बन्दकर्ताले बजार बन्द गराए पनि सवारी साधन भने आंशिक रुपमा सञ्चालनमा रहेका छन् ।

सरकारले जेठ १५ गते संसदमा पेश गरेको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर १ सय शैय्याको अस्पतालमा मात्रै सीमित पारेपछि स्थानीयले संघर्षको कार्यक्रम घोषणा गदै आन्दोलित भएका हुन् । यसैबीच संघर्ष समितिको संयोजक लोकराज पाण्डेले राज्यले सुदूरपश्चिमलाई ठग्दै आएको आरोप लगाउनुभयो ।