
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन लेखनको काम सकिएको बताउनुभएको छ ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाँले मन्त्रालयले संघीय निजामती सेवा ऐन लेखिसकेको बताउनुभएको हो । उहाँले मन्त्रालयले सरोकारवाला सबै पक्षसँग विभिन्न समयमा छलफल गरी लेखनको काम सकेको जानकारी दिनुभयो । उहाँले ऐनलाई अर्थ मन्त्रालय र कानून मन्त्रालयमा पठाइएको र ति मन्त्रालयहरुबाट सहमती आउन बाँकी रहेको उल्लेख गर्नुभयो ।
मन्त्री मोदीले तोकिएको क्षेत्रमा नजाने कर्मचारीहरुप्रति कडाइ गर्दै समस्या समाधानमा आफू दत्तचित्त भएर लागेको बताउनुभयो ।
उहाँले स्थानीय तहलाई बेरुजु नियन्त्रणका लागि मन्त्रालयबाट परिपत्र जारी गरेको तथा आगामी बजेटमा जनजाति, मधेशी, दलित, पिछडिएका क्षेत्रका जेहेन्दार विद्यार्थीलाई लोकसेवा निःशुल्क पढाउने व्यवस्था मिलाएको बताउनुभयो । उहाँले निजामति अस्पतालाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने र सातै प्रदेशमा विस्तार गर्ने योजना रहेको पनि बताउनुभयो ।
मन्त्री मोदीले पालिका प्रमुखहरु विदेश भ्रमणका जाने कुरामा पनि कडाइ गरेको बताउनुभयो । आफू खुशी विदेश भ्रमणमा जानलाई रोक लगाउँदै परराष्ट्र मन्त्रालयमार्फत सबै प्रक्रिया नपु¥याइकन जान नदिएको बताउनुभयो । सरकारी खर्चमा विदेश भ्रमणमा जान नदिएको उहाँको भनाई छ ।
मन्त्री मोदीले सञ्चारमाध्यममा आएजस्तो आफूलाई मन्त्रीबाट फिर्ता बोलाउन लागिएको बारे जानकारी नभएको बताउनुभयो । उहाँले मन्त्रिपरिषद्मा थारु समुदायको आफू एक्लै रहेको र खराब काम पनि नगरेको भन्दै प्रधानमन्त्रीले आफूलाई फिर्ता नबोलाउनेमा विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री मोदीले आफू मन्त्री भएर आएसँगै मन्त्रालय र कर्मचारी प्रशासनभित्र सुधारका कामहरु गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्