१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लामो समय खरेडी पर्दा नवलपरासीमा धानबाली सुक्दै


1.768k
Shares

नवलपरासी । खडेरीका कारण नवलपरासीका किसानहरुले लगाएको धानबाली सुक्न थालेको छ ।

अत्याधिक गर्मीसँगै खडेरीले किसानहरुले राखेको धानको ब्याड र धानखेती चिरा चिरा पर्न थालेको हो । लामो समयदेखि पानी नपर्दा किसानहरु चिन्तित बनेका छन् ।

पानी नपरेपनि जिल्लाका अधिकांश किसानहरुले धानको बिउ राखिसकेको कृषि ज्ञान केन्द्र परासीका प्रमुख सन्तोष चौधरीले बताउनुभयो । पानी नपरेर चिन्तित बनेका किसानहरुले पम्पसेटबाट सिँचाई गरेर धानको बिउ राखेका हुन् ।

तर,गर्मीसँगै खडेरीले रोपेको धान समेत सुक्न थालेपछि ब्याडमा पानी राख्नसमेत समस्या भएको चौधरीले बताउनुभयो । अधिकांश किसानहरुले पम्पसेटबाटै सिँचाई गर्दै आएका छन् । अहिले ५० प्रतिशतभन्दा बढी रोपेको धान सुकिसकेको छ ।

पम्पसेटबाट पनि सिँचाई गर्न नपाउँदा ब्याड चिराचिरा पर्न थालेको छ । पाँच दिनदेखि परासी क्षेत्रको तापक्रम ४२ देखि ४३ डिग्रीसम्म पुगेको छ । जिल्लाको कुल ४१ हजार हेक्टर खेतियोग्य जमिनमध्ये २१ हजार हेक्टर भन्दाबढी क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

विगतका वर्षहरुमा सामान्य पानी परेपछि जेठको अन्तिमसाताबाट धान रोपाई सुरु हुने गरेको थियो । तर, अहिले पानी पर्ने छाट नदेखिएकाले यसवर्ष उक्त समयमा रोपाई सुरु हुन नसक्ने र धान उत्पादनमा समेत कमि आउन सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।